अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा

एजेन्सी

शनिबार, १० जेठ २०७७, १५ : ३९
अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा

एजेन्सी । अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम विगर अल्पसंख्यकलाई कथित रुपमा दमन गरिरहेका चिनियाँ कम्पनी र संस्थालाई अमेरिकाले कालोसूचीमा राख्ने तयारीमा भएको बताइएको छ ।

कोरोनाभाइरसको महामारीपछि दुई देशबीचको तनाव थप बढेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार कोरोनाभाइरसलाई चीनको प्रयोगशालामा बनाइएको हो र यसबारे आफूसँग पर्याप्त प्रमाण पनि छ ।

अमेरिकी अर्थ मन्त्रालयले एक बयानमा भनेको छ, ‘सात कम्पनी र दुई संस्थालाई सूचीमा राखिएको छ किनभने उनी विगर र अन्य व्यक्तिहरुको मानवाधिकारको हनन गर्ने चिनियाँ अभियानसँग सम्बन्धित थिए । यसमार्फत्, ठूलो संख्यामा मानिसहरुलाई बिनाकारण पक्राउ गरिन्छ, उनीहरुलाई नियन्त्रणमा लिएर मजदुरी गराइन्छ र उच्च कोटीको प्रविधिको सहारामा उनीहरुमाथि निगरानी राखिन्छ ।’

मन्त्रालयले अर्को एक बयानमा दुई दर्जन बढी कम्पनी, सरकारी संस्था र व्यावसायिक संगठनलाई पनि चिनियाँ सेनाका लागि सामना आपूर्ति गरेका कारण कालोसूचीमा राखिएको जानकारी दिएको छ ।  

कालोसूचीमा पर्ने यी कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स (एआई) र फेशियल रिकग्निशनजस्ता प्रविधिको क्षेत्रमा काम गर्छन् ।

अमेरिकाका थुप्रै ठूला कम्पनीले यी क्षेत्रमा भारी लगानी गरेको छ जसमा इन्टेल कर्प र एनविडिया कर्प समावेश छन् ।

चीनको कालोसूचीमा पारिएका कम्पनीमा नेटपोसा पनि समावेश छ । यसले चीनको एउटा ठूलो एआई कम्पनीको फेसियल रिकग्निशनमाथि काम गर्ने सहयोगी कम्पनीसँग मिलेर मुसलमानमाथि निगरानी गर्ने कार्यमा लिप्त भएको आरोप लगाइएको छ ।
स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस