उपयोगी बन्दै भरतपुर कोरोना अस्पताल

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, १३ : १६
उपयोगी बन्दै भरतपुर कोरोना अस्पताल

चितवन । भरतपुर महानगरपालिकाको अगुवाईमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थाई अस्पताल उपयोगी बन्दै गएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि पोजेटिभ देखिएकाहरुका लागि राख्न कोरोना अस्पताल उपयोगी बनेको हो । 

यस अस्पतालमा चितवन र नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का कोरोना संक्रमित राखिंदै आएको छ । भरतपुर महानगरपालिकाले ७२ घण्टा भित्र सो अस्पताल स्थापना गरी वैशाख १ गतेबाट सञ्चालनका लागि भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो । सो अस्पताल चैत ७ गतेबाट सञ्चालनमा आएको हो । 

जिल्लामा कोरोना नियन्त्रण कार्यदल गठन गरी कार्यबिधि बनाएर अस्पताल सञ्चालनमा ल्याइएको हो । हाल सो अस्पताल हेर्दै आउनुभएकी डा. शान्ति भूर्तेलका अनुसार आज अस्पतालमा दुई जना चितवन र दुई जना नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का संक्रमित रहेका छन् । भूर्तेलले नयाँ ठाउँ भएकाले अझै केही कुराहरु सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । यद्यपि छुट्टै अस्पताल भएकाले भरतपुर अस्पतालमा संक्रमित राख्नु नपर्दा अन्य बिरामीको सहज उपचार गर्न पाइएको बताउनुभयो । 

स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख केशव चापागाईंले भरतपुरमा कोरोना अस्पताल स्थापना भएकै कारण सहज भएको बताउनुभयो । प्रादेशीक हिसावले बिरामीहरु पठाउने ठाउँ पोखरा भए पनि भौगोलिक हिसाबले चितवन धेरै सहज भएको बताउनुभयो । नवलपरासीमा सघन उपचार कक्ष र भेन्टीलेटरहरु छैनन् । 

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । तह दुई अर्थात मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको तिवारी बताउनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको सक्रियतामा कोरोना अस्पताल स्थापना भएकै कारण आज दुवै जिल्लाका संक्रमित राख्ने ठाउँ बनेको बताउनुभयो । महानगरको दुरदर्शी सोचका कारण भरतपुर अस्पतालमा संक्रमित राख्नु नपरेको उहाँको भनाइ छ । अधिकारीले गरिबको उपचार गर्ने भरतपुर अस्पतालमा अहिले संक्रमित राख्नु नपर्दा चितवन र छिमेकी जिल्लाका बिरामीको उपचारमा सहज बनेको बताउनुभयो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपालमा कोरोना देखिना साथ समस्या आउन सक्ने भएकाले सबैको साथ र सहयोगबाट कोरोना अस्पतालको स्थापना गरिएको बताउनुभयो । उहाँले नेपालमा नै पहिलोपटक छुट्टै कोरोनाको उपचार गर्ने अस्पताल निर्माण गर्न सकिन्छ भन्ने उदाहारण भरतपुर महानगरले दिएको बताउनुभयो । 

संक्रमण बढ्दै गएपछि कोरोना अस्पतालको थप महत्व हुँदै गएको उहाँको भनाई छ । अस्पताल स्थल वस्ति नभएका ठाउँमा भएकाले जोखिमको सम्भावना न्यून छ । सो अस्पतालमा ७० शैया रहेका छन् । महानगरको नेतृत्वमा यहाँका सरकारी, निजी अस्पताल र अन्य संघसंस्थाको सहयोगमा कोरोना अस्पतालको स्थापना गरिएको हो । सो अस्पतालमा हालसम्म कोरोना संक्रमित राख्ने, स्वाव संकलन गर्ने, आईसोलेसन एव  क्वारेन्टाईनको रुपमा प्रयोग गरिंदै आएको भए पनि अब कोरोना संक्रमित मात्र राखिने भएको छ ।