पोखरीको डिलमा फालिएको अवस्थामा भेटियो १० लाख रूपैयाँ

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, ११ : २१
पोखरीको डिलमा फालिएको अवस्थामा भेटियो १० लाख रूपैयाँ

गौर । रौतहटमा एक पोखरीको डिलमा १० लाख १० हजार नगद रूपैयाँ प्रहरीले फेला पारेको छ ।   इशनाथ नगरपालिकाको परोहाको डुमरीयास्थित पोखरीको डिलमा फालिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो ।

डुमरीया माइस्थान चोकसँगै रहेको पोखरी छेउमा २ जना व्यक्तिहरू प्रहरीलाई देखेर भागेपछि प्रहरी पुग्दा सो स्थानमा पैसा छरिएको फेला परेको थियो । फालिएको रकम ती दुबै व्यक्तीको  हुनुपर्ने प्रहरीको जनाएको छ ।

ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले  ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई रोक्न खोजेको थियो । तर, उनीहरू रोकिएनन् । प्रहरीले पछ्याउन थालेपछि डुमरीया माइस्थान चोकसँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेको प्रहरीले जनाएको छ । 

त्यहाँबाट बरामद रकम ईशनाथ नगरपालिकाका नगर प्रमुखको रोहबरमा गन्न लगाएको छ । रकम गन्दा १० लाख १० हजार रुपैयाँ रहेको पाइएको औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले बताए । बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस