विद्युत प्राधिकरणले आलटाल गरेको भन्दै आपत्ति

विहीबार, १० फागुन २०७४, २० : ००
विद्युत प्राधिकरणले आलटाल गरेको भन्दै आपत्ति

काठमाडौँ । सौर्य ऊर्जा उद्यमीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) गर्न आलटाल गरेको भन्दै आपत्ति जनाएका छन् ।  उनीहरुले सरकारकै प्रस्तावमा आफूहरुले मुलुकका विभिन्न स्थानमा सौर्य ऊर्जा प्रणाली जडानका लागि जग्गा खरिद गरेको र सम्पूर्ण प्रक्रिया अगाडि बढाए पनि सम्झौता नहुँदा निर्माण शुरु गर्न अप्ठ्यारो परेको यहाँ आज पत्रकार सम्मेलनमा बताए ।

ऊर्जा मन्त्रालयले जारी गरेको ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२’ मार्फत राष्ट्रिय ग्रीड प्रणालीमा सौर्य तथा वायु ऊर्जा उत्पादन गर्ने अवधारणामा आधारित भएर सौर्य ऊर्जा प्रणाली जडानका लागि आफूहरु प्रक्रियामा सहभागी भएको उनीहरुको भनाइ छ ।

प्रतियुनिट रु ९.६१ मा सौर्य ऊर्जा खरिद गर्ने प्रस्ताव गरिए पनि त्यसलाई हालसम्म कार्यान्वयन नगरिएको र प्रतिष्पर्धात्मक बोलपत्रबाट सहभागी व्यवसायीलाई प्राधिकरणले अन्याय गरेको उनीहरुको आरोप छ । प्रतियुनिट मूल्य कायम गरी राष्ट्रिय ग्रीडमा जडान हुने फोटोभोल्टिक सौर्य तथा वायु विद्युतीय ऊर्जाका लागि बेन्च मार्क विद्युत् खरिददरका रुपमा कायम गर्ने व्यवस्था भएको छ । विशेष गरी बढी विद्युत् माग हुने तराईका विभिन्न स्थानमा ६४ मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि प्राधिकरणले २०७३ साल जेठ २६ गते बोलपत्र आह्वान गरेको थियो ।

ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजना निर्माता संस्थाका संयोजक गुरुप्रसाद न्यौपानेले सरकारले गरेकै प्रस्तावअनुसार आफूहरु सौर्य ऊर्जा प्रणाली जडानका लागि तयार भए पनि विद्युत् खरिद सम्झौता नहुँदा समस्यामा परेको गुनासो गरे । रासस

प्रतिक्रिया दिनुहोस