२२ हजार ६६४ जनाको पीसीआरबाट कोरोना परीक्षण

विहीबार, ०१ जेठ २०७७, १६ : ३९
२२ हजार ६६४ जनाको पीसीआरबाट कोरोना परीक्षण

काठमाडौँ । हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको थियो । 

यस्तै हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो । यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६००  जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ।

यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना रहेको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए । 

यस्तै आज तीन जनामा कोरोना पुष्टि भएको र योसँगै संक्रमितको संख्या २४६ पुगेको पनि उनले बताए । यस्तै ३५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस