नवलपरासीका संक्रमित लुपिछिपी भारतबाट नेपाल प्रवेश गरेको खुलासा

विहीबार, ०१ जेठ २०७७, ०९ : ४२
नवलपरासीका संक्रमित लुपिछिपी भारतबाट नेपाल प्रवेश गरेको खुलासा

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी  नेपाल प्रवेश गरेको खुलेको छ ।

कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट  खेतको बाटो हँुदै नेपाल प्रवेश गरेका थिए ।   नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको  गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो ।

ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए । स्थानीयवासीका अनुसार दिल्ली बस्दै आएका उनी नेपाल प्रवेश गर्नुअघि दिदीको घर भारतको कुशीनगर जिल्लाको खड्डा क्षेत्रको सिसई भन्ने स्थानमा तीन दिन बिताएर नेपाल प्रवेश गरेका थिए  ।  

संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा  राखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयवासीमा त्रास बढेको  छ । अझै पनि नेपाल भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नरोकिएपछि जिल्लामा डर बढेको हो । (रासस)

प्रतिक्रिया दिनुहोस