चितवन । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कार्यकारी निर्देशक प्रजापति दाहालको तलब र भत्ता नियमावली विपरीत वृद्धि गरिएपछि बाँकी कर्मचारी आन्दोलनको तयारीमा जुटेका छन् । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको स्वतन्त्र कर्मचारी युनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका छन् ।
खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको नियमावलीको दफा २० को उपदफा २ मा कार्यकारी निर्देशकको पारिश्रमिक अधिकतम ४० हजार रुपैयाँसम्म बोर्ड समितिले तोक्न सक्ने उल्लेख छ । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कार्यकारी निर्देशक प्रजापति दाहालले अहिले तलब र भत्ता गरी मासिक ७० हजार रुपैयाँ पारिश्रमिक लिँदै आउनु भएको छ । अन्य कर्मचारीलाई सेवा, सविधा नबढाइकन आफ्नोमात्रै तलब, भत्ता वृद्धि गरेको भन्दै बोर्डका कर्मचारीहरु आन्दोलित बनेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष महेश कोइरालाले करारमा रहेका कर्मचारीलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, उमेर हदका कारण स्थायी हुन नसक्नेलाई स्वेच्छिक अवकाश दिइनु पर्ने र अन्यत्र रहेका खानेपानी बोर्डका कर्मचारी सरह समान तलब, भत्ता र बिमाको व्यवस्था हुनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । युनियनका सचिव उदयराज ढकालले आफूहरुको माग सम्बोधन नभएमा फागुन १८ गतेदेखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन २२ गतेदेखि कार्यकारी निर्देशकको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरिने बताउनु भयो ।
खानेपानी व्यवस्थापन बोर्ड भरतपुर अन्तर्गत २३ हजार चार सय जना ग्राहक रहेका छन् । दैनिक एक करोड ८७ लाख लिटर वितरण गर्दै आएको बोर्डको वार्षिक आम्दानी आठ करोड रुपैयाँ रहेको छ । भरतपुर महानगरपालिकाभित्रका १९ वटा वडामा खानेपानी व्यवस्थापन बोर्ड भरतपुरले पानी आपूर्ति गर्दै आएको छ ।
यसैबीच, स्वतन्त्र कर्मचारी युनियनले खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कार्यकारी निर्देशक प्रजापति दाहाललाई बिहीबार नै मागपत्र बुझाएको छ । कर्मचारीबाट मागपत्र बुझेपछि कार्यकारी निर्देशक दाहालले कर्मचारीहरुको मागप्रति आफू सकारात्मक रहेको बताउनु भयो । उहाँले अन्यत्रका खानेपानी बोर्डको आम्दानी, खर्च, सेवा, सुविधा विश्लेषण गरेर माग सम्बोधन गरिने आश्वासन दिनुभएको बोर्डका सूचना अधिकारी सञ्जय बरालले बताउनु भयो ।
खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको नियमावलीले ताकेभन्दा बढी पारिश्रमिक लिएको सम्बन्धमा टेलिफोनबाट प्रतिक्रिया लिन खोज्दा कार्यकारी निर्देशक दाहालले फोन रिसिभ नै गर्नु भएन । बिहीबार साँझ पाँच बजेसम्म फोन सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस