प्रेमिका गर्भवती भएपछि फरार भए एक युवा

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, १७ : १८
प्रेमिका गर्भवती भएपछि फरार भए एक युवा

वीरगञ्ज । प्रेमिका गर्भवती भएपछि एक युवा फरार भएका छन् । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको हो ।

स्थानीय १९ बर्षका विशालबाबु चौधरीले आफूलाई गर्भवती बनाएर सम्पर्कविहिन भएको भन्दै युवतीले गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी हुन् । 

माझी मुसहर दलितसमुदायकी युवती र चौधरीबीच झण्डै दुईवर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । त्यसपछि उनीहरु घर छोडेर भागेका थिए । भागेरसँगै बस्दै आएका उनीहरु केही दिनअघि गाउँ फर्केका थिए । तर युवकको घर परिवारका सदस्यले सम्बन्ध अस्वीकार गरेपछि युवक सम्पर्कविहीन भएका हुन् । परिवारले नै युवकलाई भगाएको आरोप केटी पक्षले लगाएका छन् ।

पटेर्वासुगौली गाउँपालिकाको उपप्रमुख ममता महतोले चौधरी नआउँदा युवती अन्यायमा परेको बताइन् ।

‘युवती गर्भवती छिन्, दलित समुदायको भएकोले परिवारले अस्वीकार गरेको हुन सक्छ । न्यायिक समितिमा छलफल गराएर सहमति गराउन पटक पटक कोशिस गरेका हौं’ उनले भनिन् ‘विशालले युवतीसँग विवाह गर्नुपर्छ भन्ने सामाजिक अगुवाहरुको धारणा छ । तर युवक सम्पर्कमा नआउँदा समस्या समाधान हुन सकेको छैन ।’

युवतीका बुवाले छोरीले न्याय पाउनुपर्ने बताएका छन् । ‘चौधरीले मेरी छोरीलाई गर्भवती बनाएका छन्, उनले न्याय पाउनुपर्छ’ उनले भने ‘उसले सहमतिमा विवाह गर्छ भने ठीकै छ, होइन भने कानुनी बाटोमा जान्छौं ।’

प्रतिक्रिया दिनुहोस