९ वर्षदेखि बन्द कोठाभित्रै मानसिक रोगी, उपचारमा आर्थिक सहयोग गरिदिन स्थानीयको आग्रह

प्रकाश सिग्देल

आइतबार, २८ बैशाख २०७७, १६ : ५४
९ वर्षदेखि बन्द कोठाभित्रै मानसिक रोगी, उपचारमा आर्थिक सहयोग गरिदिन स्थानीयको आग्रह

– प्रकाश सिग्देल
चितवन । नारायणगढको १२ घरेको एक घरमा बिगत ९ वर्षदेखि भित्रै बसिरहनु भएकी मानसिक समस्यामा रहेकी एक महिलालाई स्थानीय बासिन्दाहरुले उद्दार गरी उपचारका लागि अस्पताल लगेका छन् ।

२६ वर्षदेखी चितवनमा श्रीमानसँगै बस्दै आउनुभएकी अम्बिका पराजुली विगत ९ वर्षदेखि मानसिक समस्या भएपछि उपचार गर्न नसकी एउटा काठाभित्रै बस्ने र बाहिर पनि ननिस्कने गरेको भन्ने आफूहरुले जानकारी पाएपछि त्यस ठाउँमा पुग्दा अवस्था साँच्चै दयनीय रहेकोे पाएको स्थानीय वासिन्दा यमलाल भण्डारीले बताउनु भयो ।

स्थानीय छिमेकी लेखनाथ पौडेलले यस्तो अवस्थादेखि आफूहरुलाई खबर गरेपछि रामप्रसाद अधिकारी लगायत अरु र आफू त्यहाँ पुगी आफूहरुले उद्दार गरी चितवन मेडीकल कलेजमा लगेको भण्डारी बताउनु हुन्छ । विगतमा बेलचोकमा होटल गरी बसेको र हेटलबाटै विगत १२ वर्ष अगाडि १३ वर्षको छोरी हराएर नभेटिएपछि श्रीमतीको मानसिक अवस्था जटिल बनेको उनका श्रीमान सोम पराजुलीले बताएको उद्दारमा संलग्न लेखनाथ पौडेलले बताउनु भयो । 

ती महिललाले झ्याल ढोका दुबै लगाउने र एउटा फोहोरो र दुर्गन्धित कोठामा भित्रै बस्ने र श्रीमानले संकेत दिएपछि मात्रै ढोका खोल्ने गरेकोे नत्र अरु कुनै पनि मानिस आउँदा ढोका नखोल्ने गरेको बताइन्छ । आफूहरु त्यहाँ पुग्दा निकै दुर्गन्धित कोठामा बसेको पाइएको पौडेलले बताउनु भयो । भित्र ओड्ने ओच्छाउने केही पनि नभएको, खाने रासन पनि केही नभएको, बिजोग अवस्था रहेको उहाँ बताउनु हुन्छ ।

श्रीमानले भने घरबेटीकै कारखानामा काम गरेर श्रीमतीलाई जेनेतेने पाल्दै आएको र चरम गरिबीले उपचार गर्न नसकेको बताएका छन् । स्थानीय बासिन्दा भण्डारी पौडेल लगायतको  समन्वयमा अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक सहयोग गरिदिन स्थानीय वासी पौडेलले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस