कोराना संक्रमण पूर्वमा बढी, परीक्षण र क्वारेन्टाईनमा सुदुरपश्चिम

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०७७, ०७ : ४८
कोराना संक्रमण पूर्वमा बढी, परीक्षण र क्वारेन्टाईनमा सुदुरपश्चिम

काठमाडौँ । कोभिड–१९ संक्रमण पुर्वी नेपालमा बढी देखिएको छ भने क्वारेन्टाईनमा बस्ने दर र रोगको परीक्षण सुदुरपश्चिममा बढी देखिएको छ ।  कोरोना रोगको संक्रमणका सबैभन्दा बढी बिरामी विराटनगरमा उपचाररत छन् । त्यसपछि विरगञ्जमा उपचार गराइरहेका छन् । रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक÷एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन् । 

कोभिड–१९ संक्रमणको संख्या ५९ जना रहेको मन्त्रालयले जनाएको छ । ति मध्ये ४९ जना पुरुष र १० महिला छन् । हालसम्म १६ जना निको भएर फर्किएका छन् । कूल ४३ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर २२ हजार ९ सय ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । रोगको परक्षिण पनि सोही क्षेत्रमा बढी छ ।  प्रदेश नं १ मा २ हजार ८ सय ६५, प्रदेश नं २ मा एक हजार ३ सय ९१, वाग्मती प्रदेशमा ५ सय ११, गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नं ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

हालसम्म ६१ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ९८ र आरडिटीमार्फत ४८ हजार ५ सय २९ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय ५२ को परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश नं १ मा ५ हजार २ सय ८२, प्रदेश नं २ मा ५ हजार ६ सय ८७, वाग्मती प्रदेशमा ५ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नं ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ आरडिटी परीक्षण गरिएको हो । हाल काठमाडौँमा ४ र उपत्यका बाहिर ८५ गरी ८९ शङ्कास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।

अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार पुगेको छ । हाल ३ सय १९ जना रेड जोनमा रहेका र उनीहरुलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ । विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण शुरु भएकाले कूल १७ स्थानबाट सेवा थालिएको डा. देवकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस