पसलमा भएको ग्यास पाउन नसकिएको गुनासो

रासस

शनिबार, ०६ बैशाख २०७७, १९ : ३९
पसलमा भएको ग्यास पाउन नसकिएको गुनासो

फाईल फोटो

काठमाडौं । बन्दाबन्दीमा ग्राहकको घरमै ग्यास पु¥याउन हिँडेका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पसलमा भएको ग्यास उपभोक्ताले नपाउने भएका छन् ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलका व्यवसायी कृष्णवीर श्रेष्ठ प्रहरीले आफूलाई नियन्त्रणमा लिई घण्टौँ राखेकाले उपभोक्ताका घरघरमा लैजान नसकिने भएको बताउनुहुन्छ । उपभोक्ता भने ग्यास नपाइने भएपछि भोकभोकै मरिने चिन्ता हुनलागेको गुनासो गर्छन् । काठ क्षेत्रका ग्रामीण भेगमा तीन चार किलोमिटरको दूरीमा मात्र ग्यास पसल छन् । 

सुन्दरीजलमा प्रहरी प्रभाग भए पनि बौद्धबाट आएको प्रहरीको भ्यानले मोटरसाइकलमा ग्यासको सिलिण्डर बोकेर अन्यत्रै हिँडेको भन्दै नियन्त्रणमा लिएको श्रेष्ठको गुनासो छ । घण्टौँ प्रहरीको नियन्त्रणमा बसेपछि वडा अध्यक्षलाई फोन गरेर जानकारी गराएपछि मात्र आफू छुटेको उहाँको भनाइ छ । श्रेष्ठका ग्राहक गोकर्णेश्वर–४ सम्म र कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि रहेका छन् । 

कागेश्वरी–१ का स्थानीयवासी नवीन्द्र ढकाल अरु साधनसमेत नचलेकाले चार किमीसम्म ग्यास बोकेर हिँड्न पनि मुस्किल हुने बताउनुहुन्छ । पहिले दाउराले खाना बनाउने गरेपनि हाल ग्यासमै भरपर्दा भोकभोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता बढेको उहाँको गुनासो छ । बन्दाबन्दीमा नगरपालिकाले स्वयंसेवी खटाएको भने पनि सहजीकरणका लागि पहल हुने गरेको छैन ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की ग्यासलगायत अत्यावश्यक सामग्री बोकेका सवारी रोकेर व्यवसायी नियन्त्रणमा लिने निर्देशन नदिएको बताउनुहुन्छ । खाद्य सामग्री, तरकारी र ग्यासलगायत अत्यावश्यक सामग्रीका पसल बिहानमात्र खुला गर्ने निर्णय बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौँ महानगरपालिका–६ ले गरेको जानकारी प्रहरीलाई प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

बजारमै भर पर्नुपर्ने नुन, चिनी, तेलजस्ता उपभोग्य वस्तुसमेत पाउन मुस्किल हुनथालेको स्थानीयवासीको भनाइ छ । बिहीबारदेखि नगरपालिकाले बिहान ९ः०० बजेसम्म मात्र पसल खोल्ने गरी सबै वडालाई निर्देशन दिएको गोकर्णेश्वरका प्रवक्ता मनोजकुमार ढुङ्गाना बताउनुहुन्छ । औषधिपसल भने दिनभर खुला हुनेछन् ।

नगरपालिकामा कोरोनाको आशङ्कामा ६८ जनामा ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ गरिएकामा सबैमा नेगेटिभ परिणाम प्राप्त भएको प्रवक्ता ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । बन्दाबन्दीमा श्रमिकलाई राहत दिँदै आएकामा आजदेखि वडा नं. ८ मा दाता खोजेर खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस