आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

आइतबार, ३० चैत्र २०७६, १८ : ०८
आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

काठमाडौँ । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार  सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् ।

काठमाडौँ उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिण्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ । उहाँका अनुसार विभिन्न नाकाबाट पर्याप्त मात्रामा ग्यासका बुलेट भित्रिरहेका कारण ग्यासको अभाव छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी सबै उद्योगीले आआफ्ना डिलरमार्फत बजारमा भरि सिलिण्डर ग्यास पठाइसकेको बताउनुहुन्छ । उहाँका अनुसार सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको र ग्यासमा कुनै समस्या छैन । “सबै ग्यास उद्योगसँग दश हजार टन क्षमतामा ग्यास मौज्दात छ । उक्त ग्यासबाट सात लाख वटा ग्यास सिलिण्डर भर्न पुग्छ”, उहाँले भन्नुभयो, “आयात निरन्तर भएको छ, उपभोक्ताहरुले खाली सिलिण्डर घरमा राख्दा उद्योगलाई ग्यास भर्न समस्या भएको छ ।”

देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेक्ट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिँदै आएको उहाँले जानकारी दिनुभयो ।

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आफूसँग रहेको खाली सिलिण्डर डिलरमा बुझाउनसमेत आग्रह गरेको छ । संघका अनुसार उपभोक्ताले बजारमा आधा ग्यास सिलिण्डर आएको जनाउँदै खाली सिलिण्डर घरमा राखेका कारण सिलिण्डर अभाव भएको छ । गत बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि सिलिण्डर ग्यास भरी आजदेखि सबै ग्यास उद्योगलाई बजारमा ग्यास पठाउन निर्देशन दिएको थियो । बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले यही चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्रीवितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस