कोरोना कहर

'सार्क' राष्ट्रमा कोरोनाले ४ सय २९ जनाको ज्यान लियो, एशिया महादेश भरिमै मृत्युको आँकडामा भारत पाँचौ स्थानमा

आइतबार, ३० चैत्र २०७६, १० : १०
'सार्क'  राष्ट्रमा कोरोनाले  ४ सय २९ जनाको ज्यान लियो, एशिया महादेश भरिमै मृत्युको आँकडामा भारत पाँचौ स्थानमा

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरु पनि प्रभावित बनेको छ । सार्क राष्ट्रहरुमा अहिले सम्म ४ सय २९ जनाको मृत्यु भएको छ ।

विश्वका शक्तिशाली राष्ट्रले यसको संक्रमण फैलिन नदिन गरिएको प्रयास सार्कका राष्ट्रहरुले गरेपनि प्रभावकारी हुन सकेको छैन् । यि राष्ट्रहरुले यसको संक्रमण फैलन नदिन अहिले लकडाउन, क्वारेन्टाईन, आइसोलसन, जस्ता सतर्कता अपनाईरहेको छ । सार्क राष्ट्र मध्ये पनि भारत सबैभन्दा बढी प्रभावित बनेको छ । 

कोरोनाका कारण भारतमा २ सय ८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४ सय २९ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत पाँचौं स्थानमा रहेको छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ४ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ३ हजार ३ सय ३९  को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा १ हजार १ सय १ जना, चौथोमा इन्डोनेसियामा ३ सय २७  जना र पाँचौमा रहेको भारतमा २ सय ८८ जनाको मृत्यु भएको छ । कोरोनाको अवस्था के छ त सार्क राष्ट्रहरुमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा आइतबार विहानसम्म २ सय ८८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको मृत्यु भएसँगै २ सय ८८ पुगेको हो । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४ सय ४६ पुगेको छ । भारतमा संक्रमितमध्ये ९६९जना उपचारपछि निको भएका छन् । ७ हजार १ सय ८९ जना उपचाररत छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ८६ जनाको मृत्यु भएको छ भने ५ हजार ११ जना संक्रमित भएका छन् । कोरोनाका कारण एकै दिन पाकिस्तानमा थप २० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८६ पुगेको हो । पाकिस्तानमा शनिबार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ११ पुगेको हो । पाकिस्तानमा संक्रमितमध्ये ७६२ जना उपचारपछि निको भएका छन् । ४ हजार १६३ जना उपचाररत छन् । उनीहरुमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बंगलादेश

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।  बंगलादेशमा शनिबार थप ३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । त्यसैगरी शनिबार थप ५८ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ४८२ पुगेको छ । बंगलादेशमा संक्रमित ४८२ जना मध्ये ३६ जना उपचारपछि निको भइसकेको छन् । ४१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अफगानिस्तान

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म १८ जनाको मृत्य भएको छ ।अफगानिस्तामा शनिबार थप ३ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शनिबार थप ३४ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या ५ सय ५५ पुगेको छ । अफगानिस्तानमा संक्रमितमध्ये ३२ जना उपचारपछि निको भएका छन् । ५ सय ५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकाका शनिबार थप ८ जना नयाँ संक्रमित भएटिए पनि पछिल्लो २४ घण्टामा कसैको ज्यान गएको छैन । हालसम्म श्रीलंकामा ७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा विहीबार थप ८ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १९८ पुगेको हो । जसमध्ये ५४ जना उपचारपछि निको भएका छन् भने १३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत संक्रमितमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । गत चैत २० गते विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो । त्यस यता नेपालमा नयाँ संक्रमित फेला परेका छैनन् । नेपालमा कोरोना संक्रमित ९ जनामध्ये एक जनाको उपचारपछि निको भइसकेको छ भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएका नेपाली नागरिकहरु हुन । नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको आइतबार २० औं दिन पुगिसकेको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा शनिबारसम्म थप संक्रमित र मृत्यु भएका नयाँ घटना देखिएका छैनन् । हालसम्म त्यहाँ १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ । भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जनामध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस