'भरतपुरमा कोभिड १९ परीक्षण प्रयोगशाला हुनु स्वागतयोग्य'

शनिबार, २२ चैत्र २०७६, १५ : ५४
'भरतपुरमा कोभिड १९ परीक्षण प्रयोगशाला हुनु स्वागतयोग्य'

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष यमबहादुर परियारले भरतपुरमा कोभिड १९ परीक्षण प्रयोगशाला हुनु स्वागतयोग्य भएको बताउनु भएको छ । शनिबार सफल खबरसँग भएको विशेष कुराकानीका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

'सरकारले सात प्रदेशका राजधानीबाट कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ, तर यसले चितवनको आवश्यकता पूरा हुँदैन भनेर केन्द्रमा पहल गरेपछि प्रयोगशाला ल्याउन सफलता मिलेको छ' अध्यक्ष परियारले भन्नुभयो, 'पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर प्रमुख रेनु दाहालको विशेष पहलबाट कोभिड १९ परीक्षण प्रयोगशाला भरतपुरमा स्थापना गर्न सम्भव भएको हो । प्रयोगशाला सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले दुई जना विज्ञ पठाएको छ ।'

अध्यक्ष परियारले पार्टी कार्यकर्ता पंक्तिलाई आफू सुरक्षित हुँदै जनताको सेवामा लाग्न र कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिन आह्वान गर्नुभएको छ । उहाँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउनको पालना, कोरोनाका शंकास्पद बिरामीको पहिचान र नमुना परीक्षण तथा कष्टकर जीवन बिताउन बाध्यहरुलाई राहत वितरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी, व्यवसायीबाट राम्रो सहयोग प्राप्त भएको बताउनु भयो । 

चितवनका सबै राजनीतिक दल मिलेर नेपाल चिकित्सक संघमार्फत भरतपुर अस्पताललाई दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री (मास्क, पञ्जा, पीपीई) दिइएको उहाँले जानकारी गराउनु भयो ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेकोले महामारीको अवस्था अझै भयावह देखिन सक्ने आशंका व्यक्त गर्दै अध्यक्ष परियारले थप सचेतता र सतर्कता आवश्यक भएको बताउनु भयो । उहाँले भन्नुभयो, 'संकटको वर्तमान अवस्थामा ज्वरो, निमोनियालगायत अन्य रोगका बिरामीलाई निजी अस्पतालहरुले उपचार नगरेको भन्ने गुनासो सुनिएको छ । त्यस्ता अस्पतालको अनुगमन नेपाल मेडिकल काउन्सिलले सुरु गरेको छ । सरकारले त्यस्ता अस्पतालको स्वीकृति खारेज गर्नेसम्मको कुरा आएको छ । संकटको यस घडीमा मानवीय दायित्व सम्झेर निजी अस्पतालले सबैखाले बिरामीको बिनाभेदभाव उपचार गर्नुपर्छ ।'

अध्यक्ष परियारले देशव्यापी लकडाउनको कारण कष्टकर जीवन बिताउन बाध्य कामदार र सुकुम्बासी तथा गरीब परिवारलाई राहत वितरण कार्य गरिरहेका सबै स्थानीय तह र निजी क्षेत्रप्रति आभार व्यक्त गर्दै राहत वितरणमा स्थानीय तहमार्फत् समन्वय गरेर एकद्वार प्रणालीबाट जान आह्वान गर्नुभयो । उहाँले बिनाकाम घरबाट ननिस्केर लकडाउनको पूर्णपालना गर्न जिल्लावासीलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस