सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता

पत्रपत्रिकाबाट

आइतबार, ०२ चैत्र २०७६, ०६ : ५८
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ। मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै उजुरी परेपछि अख्तियारले चासो देखाएको हो।

सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा परेको उजुरीका आधारमा अख्तियारले आवश्यक कागजात काठमाडौंमै मगाएको छ। छानबीनका लागि भन्दै अख्तियारले चिट्ठी पठाएपछि गाउँपालिकाले फागुन २७ गते सम्बन्धित आवश्यक कागजात बुझाएको श्रोतले जनाएको छ। श्रोतका अनुसार गाउँपालिकाका एक कर्मचारी अख्तियारमा ७६७७ एल २९११२ नम्बरमा आवश्यक कागजात दर्ता गराएर फर्किएका छन्।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवृद्धा एवं बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गत कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले सिंगो पालिकामा भइरहेको सामाजिक सुरक्षा भत्ता दुरुपयोगको विषयमा छानबीन गर्न उपाध्यक्ष गोमाबेदी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबीन समिति गठन गरेको थियो।

गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिबेदन पेश गर्ने जिम्मेवारी पाएको सर्वदलीय छानबीन समितिले गत मंसिर १७ गते सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको प्रतिबेदन बुझाएको थियो। छानबीन समितिले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, बराहपोखरी गाउँपालिका–२ सुन्तले, बराहपोखरी गाउँपालिका–३ साउनेचौंर र बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिबेदन पेश गरेको थियो।

गाउँपालिकालाई बुझाइएको प्रतिबेदनमा बराहपोखरी र साउनेचौरमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको उल्लेख गरेको छ। छानबीन समितिले पहिल्यैदेखि सामाजिक सुरक्षाभत्तामा अनियमितता हुँदै आएको पाइएको जनाएको छ।

‘अहिलेका वडा सचिव र कर्मचारीलाई मात्र कारबाही गरेर हुँदैन। धेरै अगाडिका पञ्जीकाधिकारीको समेत दोष देखिएको छ,’ छानबीन समितिमध्येका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अध्यक्षहरुको नियत खराब देखिन्न तर पनि उनीहरुले पालिकालाई स्पष्टीकरण दिनुपर्ने देखिएको छ।’ नेपाली कांग्रेस बराहपोखरी गाउँ समितिले छानबीन समितिको प्रतिबेदन सार्वजनिक गर्नका लागि गाउँपालिका समक्ष पटक–पटक माग गर्दै आएको छ।

मृत्यु दर्ता, बसाई सराई लगायत सम्बन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालय बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो। ५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको उल्लेख छ।

यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस