‘अवैध तवरले डलर साट्न खोज्दा ९ लाख ठगी’

रासस

शनिबार, ०१ चैत्र २०७६, ०९ : ०५
‘अवैध तवरले डलर साट्न खोज्दा ९ लाख ठगी’

चितवन । पुर्वी चितवनको खैरहनीमा शुक्रवार दिउँसो ९ लाख नगद लुटिएको भनिएको घटना लुटिएको नभई ठगिएको खुलासा भएको छ । खैरहनी नगरपालिका वडा नम्वर ८ पर्सा बजार नजिकबाट हिजो दिउँसो ९ लाख रुपैयाँ लुटिएको भनिएपनि प्रहरीले त्यो लुटपाट नभई ठगी भएको बताएको छ । 

गुल्मी जिल्ला सत्यवती गाँउपालिका ६ बस्ने बर्ष ३१ को नारायण घर्तिसंगै ३० बर्षिय पदम घर्ति खैरहनीमा जग्गा खरिदको लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घर्तिले ९ लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजना अनुसार बैंकबाट रकम निकाली पर्साबजार आएका थिए ।

अनिल राई नाम गरेको व्यक्तीले घर्तिको साथबाट ९ लाख रुपैया लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएको तर सो झोला भित्र अमेरिकी डलरको सट्टा डलर आकारमा काटीएको कागज मात्रै भेटियो प्रहरीको भनाई छ । अनिल नाम गरेको व्यक्तीले ९ लाख नगद भएको झोला लिए लगत्तै  त्यहाँबाट फरार भएको पीडीत घर्तिले प्रहरी समक्ष वयान दिएका छन् ।

डलर भनेर राखिएको झोलामा मिलाएर राखिएको कागजको कट पीस मात्रै देखेपछि घर्तिले प्रहरीलाई खबर गरेका थिए । जग्गा खरिदको लागि ल्याएको रकम लुटिएको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनाको अनुसन्धान र लुटेराको खोजीमा प्रहरी जुटेको थियो ।

घर्तिको भनाईमा प्रहरी विश्वस्त नभएपछि प्रहरीले उनलाई र उनीसँगै आएका पदम घर्तिलाई पक्राउ गरी अनुसन्धान केन्द्रित गर्दा दुवैजना  नेपाली रकमसँग डलर साट्न खैरहनी आएको खुलासा भएको हो । घटनाको बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको र ठगीगर्नेहरुको खोजी कार्य तिव्र पारीएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस