निर्वाचनको सन्दर्भमा यस्तो छ सेनाको गतिविधि र प्रतिक्रिया

पत्रपत्रिकाबाट

बुधबार, १५ कार्तिक २०७४, ०७ : ०९
निर्वाचनको सन्दर्भमा यस्तो छ सेनाको गतिविधि र प्रतिक्रिया


नेपाली सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचन सुरक्षा चुनौतीलाई ख्याल गर्दै मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी बढाएको छ । त्यसका लागि सेनाले पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ । स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास क्षेत्रमा पेट्रोलिङ थालेको हो ।

प्रतिनिधि र प्रदेशसभाका लागि सेनाले ६४ हजार २० जना सैनिक खटाउने भएको छ । निष्पक्ष र भयरहित निर्वाचन गराउन सेनाले उपत्यकासहितका आठवटै पृतना कार्यालयलाई सक्रिय बनाएको छ । सेनाले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर र आवश्यक फौजलाई तैनाथ अवस्थामा राखेको छ ।

सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक बोलाएको छ । जंगी अड्डामा यही बिहीबार र शुक्रबार हुने बैठकमा आठवटै पृतानापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नेछन् ।सेनाको सुरक्षा घेरामा मतपत्र छापिरहेको छ भने स्थानीय तहमा ती मतपत्र पुर्‍याउने जिम्मेवारीसमेत नेपाली सेनाले लिएको थियो । मतदान केन्द्रमा तेस्रो सुरक्षा घेरामा रहने सेनाले मतपेटिका जिल्लासम्म लैजानेछ ।

सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले भयरहित निर्वाचन गराउन नेपाली सेना तयारी अवस्थामा रहेको बताएको खबर रातोपाटीका लागि आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं ।

प्रवक्ता दाहालले भने, ‘हाम्रा फौजले पेट्रोलिङ सुरु गरिसकेका छन् । निर्वाचन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं ।’निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन जस्तोसुकै सहयोग गर्न नेपाली सेना तयार रहेको दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस