वडासदस्यले युवतीलाई सूई घोपिन्, प्रहरीमा उजुरी गर्दा उल्टै धम्की

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०७६, ०६ : ४२
वडासदस्यले युवतीलाई सूई घोपिन्, प्रहरीमा उजुरी गर्दा उल्टै धम्की

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछानेले एक युवतीमाथि खोरेत रोगको भ्याक्सिन लगाएको आरोप लागेको छ । 

सो रोगको भ्याक्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा पुगेकी उनले भैसीलाई लगाउने क्रममा युवतीलाई घोपेकी हुन् । त्यतिबेला युवती घरमा एक्लै थिइन् । 

उनी जनप्रतिनिधि भएपछि भ्याक्सिन लगाउने कार्यमा खटिएको तर उनले सो भ्याक्सिन लगाउने स्वीकृति कतैबाट पनि नपाएको पाइएको छ । 

पीडित युवतीले लामिछानेले आफ्नो हातमा भ्याक्सिनसहितको सूई घोपेर कुनै वास्तै नगरी हिँडेको र आफूले अनेकन मानसिक तनाव खेप्नुका साथै हात नराम्ररी सुन्निएको बताइएकी छिन् । 

लामिछानेले घटनाबारे जानकारी हुँदा पनि चासो नदिएको भन्दै पीडित युवतीले चर्को आलोचना गरेकी छिन् । पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लैजान अनुरोध गरेपनि लामिछानेले अनेक बहाना बनाएर टारेको पीडित युवतीको भनाइ छ ।

पीडित युवतीका अनुसार उनका श्रीमानको पशु भेटेनरी रहेको र उनका श्रीमान र छोरा यसमा अनुभवी भएपनि अनुभवहीन जानकी भ्याक्सिन लगाउन भन्दै हिँडेकी थिइन् । 

सोही क्रममा आफ्नो घरमा आएर भैसीलाई भ्याक्सिन लगाउन खोज्दा अज्ञानताले युवतीको हातमा सुई घोपिन पुगेको थियो । जानकीले भ्याक्सिन लगाउनका लागि युवतीको सहयोग माग्दा सो घटना हुन पुगेको पीडित युवतीले बताएकी छिन् । युवतीले सामाजिक सञ्जालमा जनप्रतिनिधिको गैरजिम्मेवारपनप्रति कटाक्ष गर्दै एक भिडियो सार्वजनिक गरेकी छिन् भने सो भिडियो अहिले भाइरल बनेको छ । 

फागुन १५ गते भएको उक्त घटनाको विवाद प्रहरीसम्म पुगेको छ । युवतीले प्रहरीमा उजुरी गरेको तर प्रहरीे पनि जानकीलाई कारबाहीको दायरामा नल्याएको बताएकी छिन् । 

बरु उल्टै जानकीका श्रीमान र छोराले आफू र परिवारलाई धम्की दिएको युवतीले बताएकी छिन् । उनले आफू अन्यायमा परेको भन्दै न्यायको लागि अपील गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस