कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर २ हजार ८ सय ७३ व्यक्तिको मृत्यु, ८३ हजार बढीमा संक्रमण

शुक्रबार, १६ फागुन २०७६, २१ : १८
कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर २ हजार ८ सय ७३ व्यक्तिको मृत्यु, ८३ हजार बढीमा संक्रमण

file photo

पेरिस । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा २ हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल  ८३ हजार ८ सय ५३ व्यक्तिमा संक्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ ।

सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा जनाइएको छ । बिहीबार साँझपछि उक्त भाइरसको संक्रमण एक हजार २ सय ९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई संक्रमण पुष्टि भैसकेको छ ।

ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा संक्रमण पुष्टि भएको छ ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई संक्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र संक्रमण पुष्टि भएको हो ।

दक्षिण कोरियामा संक्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले संक्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस संक्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।

 इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ । त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस