बाबुरामको स्पष्टोक्ति : आफ्नो सरकारको पालामा विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण

बुधबार, १४ फागुन २०७६, १४ : २०
बाबुरामको स्पष्टोक्ति : आफ्नो सरकारको पालामा विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको बताएका छन् ।

उनले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरेका छन् ।

उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।  

उनले राजा महेन्द्रले सूचना जारी गरेर हकपरित्याग गरेको रेकर्ड रहेको भन्दै त्यसवेला रैकर भएको जग्गा पुनः टाठाबाठाहरुले २०४६ सालमा फेरि राजाका नाममा दर्ता गरेको पाइएको जानकारी दिए । उनले सोझासाझा जनताले दर्ता गर्न नसकेको अवस्थामा आफूले उक्त जग्गा पुनः मोहीहरुलाई दिएको बताए । 

आफ्नो मन्त्रिपरिषद् बैठकले मातातीर्थ लगायतका क्षेत्रमा मोहीले कमाएको जग्गा उनीहरुलाई दिने निर्णय गरेको सत्य भएको भन्दै त्यो वर्तमान सरकारलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिए’जस्तै भएको बताए ।

उनले ललिता निवासको जग्गा प्रकरण भूमाफियाहरुको योजनामा ‘लुट’ नै भएको भन्दै ललितानिवास प्रकरणसँग मातातीर्थको जग्गा प्रकरण जोड्न नमिल्ने बताए । 

मातातीर्थको जग्गा प्रकरणबारे फागुन ३ गते प्रधानमन्त्रीले संसदमा चर्चा गरेका थिए । उनले त्यसदिन मातातीर्थको १७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै छानविन गर्ने बताएका थिए । प्रधानमन्त्रीले यसो भनेपछि डा. बाबुराम भट्टराई स्थानीयलाई भेट्न मंगलबार मातातीर्थ नै पुगेका थिए । 

डा भट्टराईले सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आफूले निर्णय गरेको बताए । भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो ।’