सांसदले कविता भन्दै मागे प्रधानमन्‍त्रीको राजीनामा

पत्रपत्रिकाबाट

बुधबार, १४ फागुन २०७६, ०८ : ३२
सांसदले कविता भन्दै मागे प्रधानमन्‍त्रीको राजीनामा

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सूयर्माराज राईले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्। मंगलबारको प्रदेशसभाको बैठकमा बोल्दै कांग्रेस सचेतकसमेत रहेका सांसद राईले कवितामार्फत प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

आफ्नो जन्मदिनमा हेलिकाप्टरबाट केक लगेर नेपालको नक्सा आकारको केक काट्नु, घुस र कमिशन माग्नेलाई काखी च्यापेर बस्नुले सर्वहारा जनताको प्रधानमन्त्री हुन नसुहाउने भन्दै  उनले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा मागेका हुन्। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

उनले आफुले पाएको शुन्य समयको सबै भाग कवितामार्फत विचार राखेका थिए।

सांसद राईले वाचन गरेको कविता
‘बालुवाटारमा बेसुरा सारंङ्गी रेटेको देखियो।
सर्वहारा बर्थडेमा केक हो कि देश रु काटेको देखियो।

सामन्ती, बुर्जुवा, पुँजीपति जनताका शत्रु हुन् भन्थे,
सर्वहारा प्रधानमन्त्रीको मण्डले चरित्र फाटेको देखियो।

समृद्ध नेपाल सुखी नेपाली नारा त सुनेकै हो,
करोड, अरबको कमिशनमा त्यो सबै साटेको देखियो।

भ्रष्टाचारीको मुख हेर्दिन, नयाँ तुक्का शब्दकोषमा,
आफ्नु अनुहार ऐनामा मज्जाले चाटेको देखियो।

नेपाल र नेपालीको भाग्य बदल्छु भन्नेले,
काखी च्यापी घुसखोरीलाई जनता ढाँटेको देखियो।

मेची, काली, हिमाल तराई जै राष्ट्रवाद,
बेला बेला उत्तर दक्षिण शिर काटेको देखियो।

राजीनामा माग्छन् जनता ए प्रधानमन्त्रीज्यू,
नैतिकता कुन चरी हो रु उल्टै सोध्न आँटेको देखियो।
 

प्रतिक्रिया दिनुहोस