रंगशाला निर्माणका लागि एकै दिन १५ करोड संकलन

उर्गेन तामाङ

शनिबार, २५ माघ २०७६, १८ : ५२
रंगशाला निर्माणका लागि एकै दिन १५ करोड संकलन

–    उर्गेन तामाङ 
चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जारी धनधान्याचल महोत्सवमा शनिबार एकैदिन १५ करोड संकलन भएको छ । यसअघि शुक्रबार एकैदिन ९ करोड, विहिबार एकैदिन ५ करोड संकलन भएको थियो । 

हरेक दिन सहयोग रकम जुट्नेक्रम बढ्दै गएको महोत्सव मुल आयोजक समितिका संयोजक एवंम प्रदेश सांसद विजय सुवेदीले बताए । हरेक दिन विभिन्न संघसस्था तथा व्यक्तिले महोत्सवस्थलमै पुगेर सहयोग हस्तान्तरण गरिरहेका छन् । 

शनिबार वाग्मती प्रदेशका तर्फबाट रंगशालालाई १० करोड घोषणा गरिएको छ । मुख्यमन्त्री आफै रंगशालामा पुगेर उक्त रकम घोषणा गरेका हुन् । उनले सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएका थिए । 

बालकुमारी कलेजले १५ लाख १५ हजार , इच्छाकामना गाँउपालिकाले ११ लाख ११ हजार, सप्तगण्डकी क्याम्पसले ६ लाख १ हजार र तारापुञ्ज सहकारीले ३ लाख सहयोग गरेको महोत्सव मुल आयोजक समितिका सह कोषाध्यक्ष नवराज सापकोटाले बताए ।

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणधिन रंगशाला परिसरमा धनधान्याचल महोत्सव १९ गतेदेखि जारी छ । ५० करोड सहयोग रकम जुटाउने उद्देश्यका साथ जारी महोत्सव माघ २६  गतेसम्म सञ्चालन हुने छ । 

रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने बताइएको छ । जसमध्ये कम्तिमा १ अर्ब जिल्लाबाटै उठाउन चितवनवासी एक भएर रकम संकलनमा जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस