रंगशाला महायज्ञमा एकै दिन पाँच करोड, अहिलेसम्म ७ करोड भन्दा बढी रकम संकलन

जिल्ला समन्वय समितिले २ करोड २२ लाख, माडीले ३० लाख दिने घोषणा

सफल खबर संवाददाता

विहीबार, २३ माघ २०७६, १८ : ३६
रंगशाला महायज्ञमा एकै दिन पाँच करोड, अहिलेसम्म ७ करोड भन्दा बढी रकम संकलन

चितवन । रामपुरमा धुर्मुस–सुन्तली फाउण्डेशनले जनताको सहयोगमा निर्माण गर्ने लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा आज बिहिबार मात्रै करिव पाँच करोड आर्थिक संकलन भएको छ ।

प्रदेश सांसद समेत रहेका महायज्ञका संयोजक विजय सुवेदीका अनुसार जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ ।

नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पु¥याउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ ।

माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ । नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल धनधान्याचलमै पुगेर सहयोग रकम उद्घोष गरेका हुन । उद्योग संघले ६५ लाख सहयोग गर्ने घोषणा गरे । जसमध्ये आज ३५ लाखको चेक दिएका छन्। 

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ ।

करिव ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । अहिलेसम्म ७ करोड भन्दा बढी रकम संकलन भईसकेको महोत्सव मुल आयोजक समितिका महासचिव दिनेस कुमार चुकेले बताए ।


 

प्रतिक्रिया दिनुहोस