बजारमा १० अर्ब रुपियाँ पठाउँदै केन्द्रीय बैङ्क

पत्रपत्रिकाबाट

शुक्रबार, १७ माघ २०७६, ०७ : ३८
बजारमा १० अर्ब रुपियाँ पठाउँदै केन्द्रीय बैङ्क

काठमाडौँ । बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रुपियाँ बजारमा पठाउन लागेको छ । केन्द्रीय बैङ्कले बैङ्किङ प्रणालीमा तरलता सन्तुलन राख्नकै लागि बिहीबार १० अर्ब रुपियाँ पठाएको हो ।

केन्द्रीय बैङ्कले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र बोलकबोलमा सहभागी भएका थिए ।

बैङ्क तथा वित्तीय संस्थाहरूले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । साढे चार प्रतिशत वा सोभन्दा कम ब्याजदर कबोल गरी पेस भएका बोलपत्र रद्ध गरिने बताइएको छ ।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यसअघि पनि गत माघ ७ गते एक साताका लागि २० अर्ब रुपियाँको रिपो जारी गरेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस