क्रिकेट रंगशालाले आकार लिँदै, ५० करोड उठाउने लक्ष्य लिएर महायज्ञ गरिँदै

हरेक वडामा सहयोग समिति : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, १४ : ३३
क्रिकेट रंगशालाले आकार लिँदै, ५० करोड उठाउने लक्ष्य लिएर महायज्ञ गरिँदै

चितवन । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले आकार लिँदै गइरहेको छ । क्रिकेट रंगशाला निर्माणको क्रम तीव्ररुपमा अगाडि बढिरहेको छ । 

गौतमबुद्ध  अन्तर्राष्ट्रिय  क्रिकेट  रंगशाला निर्माणमा  सहयोग  पुर्याउने  उद्देश्यले बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिन लागिएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ । 

महायज्ञ  सम्पन्न  गर्नको  लागि  १  हजार  १११ सदस्यीय  मुल  आयोजक  समितिको  घोषणा गरिएको  छ  ।  भरतपुर  महानगरपालिकाकी  प्रमुख  रेनु  दाहालले  मूल आयोजक समितिको  घोषणा गर्नुभएको  हो  ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको धन धान्यान्चल महायज्ञमा सम्पूर्ण चितवनवासीलाई सहभागी भई आर्थिक संकलनमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।  

उहाँले महायज्ञलाई सफल बनाउन हरेक वडामा अनिवार्य रूपमा वडास्तरिय सहयोग समिति गठन गरी प्रभावकारी ढंगले काम अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक वडामा सहयोग समिति बन्छन्,  त्यो अनुसार निर्देशन भइसकेको छ । सहयोग संकलन पनि तीव्र तरिकाबाट हुने अपेक्षा गरिएको छ । 

भरतपुर महानगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा धुर्मुस सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माण अगाडि बढाइरहेका हुनाले सबै चितवनवासीले अपनत्व हुने गरी निर्माणमा जुट्न प्रमुख दाहालले सबैमा आग्रह गर्नुभएको छ । 

उहाँले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माण सहयोगआर्थ पुस १९ देखि सुरू गर्नलागेको धन धान्यन्चल ज्ञान महायज्ञमा सबैलाइ सहयोग गर्न आग्रह गर्नुभएको छ ।

महानगर प्रमुख दाहालले राष्ट्रको विकासका लागि नागरिकको दायित्वबोध गराउन जन सहभागिताबाट रंगशाला निर्माण गर्न लागिएको भन्दै स्वदेश तथा विदेसमा रहनुभएका सबैलार्इ मन फुकायर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रमुख दाहालले यो महायज्ञमा चितवनवासीको महत्वपूर्ण भूमिका हुने भन्दै यसको तयारी व्यवस्थापन र सहयोग जुटाउन खटिनुभएका सबैलाई धन्यवाद दिँदै लक्ष प्राप्त गरेर भब्यरूपमा महायज्ञ सम्पन्न गर्नु सबैको सामुहिक दायित्व भएको बताउनुभयो ।

प्रमुख दाहालले महायज्ञमा भरतपुर महानगरपालिकाका सम्पूर्ण वडाहरूमा वडास्तरी सहयोग समिति बनाएर घरघरसम्म सहयोग अभियान चलाउन सम्पूर्ण वडा कार्यलयहरूलाई निर्देशन दिनुभएको छ । उहाँले सम्पूर्ण वडा समितिलाई सहयोग संकलन गर्न सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रै पालामा क्रिकेट रंगशाला तयार हुन्छ, यसको लागि सम्पूर्ण चितवनवासी जुट्न आवश्यक छ, त्यो अनुसार वडा कार्यालयहरु पनि सक्रिय हुन जरुरी छ ।’

महायज्ञ सम्पन्न गर्न समिति 
महायज्ञ सम्पन्न गर्न मूल आयोजक समिति बनाइएको छ । वाग्मती  प्रदेश सभा  सांसद  विजय सुवेदीको  संयोजकत्वमा  गठित  समितिको  सह–संयोजकमा  प्रदेश  सभा  सदस्य  मिलनबाबुश्रेष्ठ  रहनुभएको  छ  ।  

उपसंयोजकमा  चितवन  जिल्ला  भित्रका  ७ वटा  पालिका  र  गैँडाकोट  नगरपालिकाका  प्रमुख,  जिल्ला  समन्वय  समितिका  उपप्रमुख,  उद्योग  वाणिज्य  संघ,  उद्योग  संघ  चितवनलगायत  विभिन्न  सामाजिक  व्यक्तित्वहरुलाई  समेटिएको  छ  ।

समितिको  महासचिवमा  दिनेशकुमार  चुके  रहनु भएको  छ  ।  त्यसैगरी  उपमहासचिवमा चुननारायण  श्रेष्ठ,  रामबाबु  ढकाल,  आरसी अधिकारी,  राजु  पौडेल  रहनु  भएको  छ।  शंकर कंडेल  कोषाध्यक्ष  रहनुभएको  छ  ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० संकलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता अपेक्षा गरिएको छ । 

महायज्ञ मूल समितिका संयोजक प्रदेश सभा सदस्य विजय सुवेदीले अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग संकलनका लागि खाका तयार गरिएको बताउनुभयो । अनुमानित खाकाअनुसार उक्त रकम संकलन हुने अपेक्षा गरिएको प्रमुख सुवेदी बताउनुहुन्छ । 

स्थानीयस्तर, संघसंस्था, गैरआवासीय नेपाली, पालिकाहरू, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकुद सामग्री उत्पादक कम्पनी एवम् एजेन्सीहरूबाट रकम संकलनको लक्ष्य निर्धारण गरिएको छ ।

यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिनुभयो ।

कम खर्चमा ठूलो मात्रामा रकम संकलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेले महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको बताउनुभयो । 

महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानुन व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्ब ५० करोड खर्च गरेर रंगशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको नेतृत्व लिएको छ । महायज्ञको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहनेछन् । 

खेलाडीबाट उद्घाटन गरिने 
महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उदघाटन गराउने योजना रहेको छ । 

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिराराम कट्टेल धुर्मुसले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व गराउने माध्यम र जोडिनका लागि सहज होस् भनेर महायज्ञ गर्न लागिएको बताउनुभयो ।

‘महायज्ञमा सबै नेपालीहरुको साथ रहन्छ भन्ने विश्वास लिएको छु, अध्यक्ष कट्टेलले भन्नुभयो, ‘७७ वटै जिल्लाका कक्ष रंगशालामा बन्ने भएकोले सबै जिल्लाका नागरिकहरुको सहयोग मिल्छ भन्ने अपेक्षा छ ।’

उहाँले रंगशालामा कमलको फूलको पत्ता सातवटा प्रदेश झल्काउने खालेको रहेकाले सातै प्रदेशमा पछि ठूला महायज्ञ पनि गर्न सकिने बताउनुभयो। चितवन र यसआपसका जिल्लामा पनि विभिन्न समितिहरु बनाउने योजना छ ।

रंगशाला निर्माणस्थलमा पछिल्लो समय स्वतस्र्फूत रुपमा आएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ । रंगशालाको पिच र ड्रेनएजको काम भैरहेको छ । दैनिक तीन सय जना मजदुरले रंगशालामा काम गरिरहेका छन् ।

क्रिकेट रंगशालामा जुट्न अपिल 

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा जुट्न अपिल गरेकी छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद रावलले भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनको अग्रसरता तथा जनसहभागितामा निर्माणाधीन क्रिकेट रंगशाला अवलोकनका लागि जान र निर्माण अभियानमा सहयोग गर्न अपिल गरेकी हुन् ।

‘निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हेर्न जाऔं, यो  महत्त्वपूर्ण रंगशाला निर्माणमा जुटौं, उठौं, हामी कोही नछुटौं भन्ने अनुरोध, आह्वान र आग्रह गर्द्छु’ रावलले भन्नुभयो । 


क्रिकेट रंगशालामा अरु केके हुन्छ ?

३० हजार दर्शकले खेल हेर्न सक्ने प्याराफिटसहितको क्रिकेट स्टेडियम, हजारौं दर्शकले खेल हेर्न सक्ने फूटबल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको अन्तरकक्ष पौडी पोखरी तथा भलिबल, बक्सिङ, जुडो, कराँते, तेक्वान्दो, सुटिङलगायतका खेलकुद खेल्न सकिने र अन्तर्राष्ट्रिय स्तरको अन्तरकक्ष कभर्डहल समेत निर्माण हुनेछ । 

प्रतिक्रिया दिनुहोस