बन्ध्याकरण गराउँदैै कुकुरलाई जुकाको औषधि खुवाइयो

शुक्रबार, १० माघ २०७६, १० : १९
बन्ध्याकरण गराउँदैै कुकुरलाई जुकाको औषधि खुवाइयो

दमौली । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई  तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ ।

“छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको हो”, डा श्रेष्ठले भन्नुभयो ।

आजसम्म सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिनुभएको छ  । बजार क्षेत्रमा  कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुशी व्यक्त गरेका छन् ।  (रासस)