गाडी सिक्न खोज्दा अधिकृतले लिए आमाको काखमा खेलेको बालकको ज्यान

सफल खबर संवाददाता

बुधबार, ०८ माघ २०७६, १६ : ०५
गाडी सिक्न खोज्दा अधिकृतले लिए आमाको काखमा खेलेको बालकको ज्यान

कावासोती । नवलपुरका हुप्सेकोट गाउँपालिकाका अधिकृतले गाडी सिक्न खोज्दा अनाहकमा एक बालकको ज्यान गएको छ । गाउँपालिकाको ग१झ ३८९ नम्बरको गाडी गाउँपालिका कार्यरत अधिकृत शिवप्रसाद सुवेदीले सिक्न खोज्दा आमासँग काखमा खेलिरहेको पाँच वर्षका बालकको अनाहकमा ज्यान गएको हो । बालककी आमा गम्भीर घाइते छन् ।  

हुप्सेकोट गाउँपालिका– ५ का वडाध्यक्ष पदमबहादुर रानाका अनुसार ठक्कर दिँदै गाडी एउटा घरमा गएर जोतियो, घरको सिँढीमा आमाको काखमा खेलिरहेको बालकको ज्यान गए ।  
‘गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने झ्यालबासस्थित सडक छेउमा मोटरसाइकल रोकेर २ जनासँग कुराकानी गरिरहेका थिएँ।

गाडी बत्तिएर आयो । हामीलाई छुँदै घरमा गएर जोतियो’ उनले भने, ‘मेरो शरीरमा ठूलो चोट लागेन, मत डिस्चार्ज भएँ, तर बालकको ज्यान गयो, बालकको आमा र मसँग कुराकानी गर्ने दुई जना अस्पतालमा घाइते छन् ।’ 

वडाध्यक्ष रानाको ना१ब २५७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर सडकसँगैको घरतिर मोडिएको गाडीले सिँढीमा बसिरहेका आमाछोरालाई पनि ठक्कर दियो ।

छोरा ५ वर्षीय दिपु गाहाले ज्यान गुमाए आमा २६ वर्षीय मीना गाहाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

सोही दुर्घटनामा घाइते भएका ५५ वर्षीय भीमबहादुर लुंगेली र ७० वर्षीय पूर्णबहादुर लामा पनि सोही अस्पतालमा उपचाररत छन् ।

घटनाको विरोधमा स्थानीयले बुधवार गाउँपालिका तथा वडा कार्यालयहरू बन्द गराएका छन् । शैक्षिक संस्थाहरूमा पनि पढाइ भएन । गाउँपालिका कार्यालय परिसरमा यतिबेला तनाव भइरहको छ । 

सो गाडी गाउँपालिका उपाध्यक्ष कोपिला मल्ललाई घर पुर्‍याउन गएको थियो । मल्ललाई पुर्‍याएर फर्किने बेलाको अधिकृत सुवेदीले गाडी चलाउन सिक्दा उक्त दुर्घटना भएको हो । 
स्थानीयका अनुसार फर्किँदा गाडीमा ३ जना थिए । 

यतिबेला स्थानीयले त्यसको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

स्थानीयले हुप्सेकोटकोे झ्यालबास बजार बन्द गराएका छन् भने यातायात समेत बन्द भएको छ । 

अधिकृत सुवेदी फरार रहेका प्रहरीको भनाइ छ । 

स्थानीय दोषीलाई कडा कारबाही हुनुपर्ने, घाइतेको निःशुल्क उपचार गरिनुपर्ने, पीडित उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग लिएर आन्दोलनमा उत्रेका छन् । 

प्रतिक्रिया दिनुहोस