Safal Khabar - मनोजले सुरु गरे चितवनमा पहिलो पटक स्ट्रबेरी खेती
मङ्गलबार, ०६ फागुन २०७६ (Tuesday, 18 February, 2020)
पौरखी पात्र

मनोजले सुरु गरे चितवनमा पहिलो पटक स्ट्रबेरी खेती
मङ्गलबार, ०७ माघ २०७६, १४ : ४७
मनोजले सुरु गरे चितवनमा पहिलो पटक स्ट्रबेरी खेती

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका ६ गीतानगरमा स्ट्रबेरी (भूईं काफल) को खेती सुरु गरिएको छ । ४० वर्षीय मनोज कोइरालाले ५ कठ्ठा जग्गामा ५ हजार बिरुवा लगाएर यसको खेती थालेका हुन् । 

‘चितवनको हावापानीमा स्ट्रबेरीको खेती हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न खेती सुरु गरेको हुँ, उनले भने ‘चितवनमा व्यावसायिक रुपमा यसको खेती म र मेरो साथीले पहिलो पटक गरेका छौं ।’ उनको साथी राजेन्द्रजंग रायमाझीले चितवन रत्ननगरको पिठुवामा १० कठ्ठा जग्गामा १० हजार बिरुवा लगाएका छन् । आफूहरुले एकै समयमा चितवनमा पहिलो पटक स्ट्रबेरीको खेती थालेको मनोजले बताए । काठमाडौंमा रहेको बेरी संसारसँग सल्लाह लिएर चितवनमा स्ट्रबेरीको अनुसन्धानकै लागि खेती गरेको उनी बताउँछन् ।

बेरी संसार कृषि विज्ञहरुले सञ्चालन गरेको एउटा कम्पनी हो । जसले स्ट्रबेरीका बिरुवा उत्पादन गर्छ । यसबाहेक विदेशबाट बिरुवा ल्याएर बेच्ने पनि गर्छ । कृषि विज्ञहरु ससन देवकोटा र डा. राजेन्द्र गौतम पनि यसमा आबद्ध छन् । यी दुबै जना अमेरिकामा कृषि पढेर र काम गरेर अनुभव बुटुलेका कृषि विज्ञहरु हुन् । बेरी संसारले नेपालमा स्ट्रबेरीको व्यावसायिक खेती गर्न किसानहरुलाई सल्लाह सुझाव, प्राविधिक ज्ञान प्रदान, बिरुवाको आपूर्ति गर्नुका साथै हौसला प्रदान गर्दै आएको छ । 

Yeti Diistillery
nic asia

चितवनका मनोजले पनि बेरी संसारबाट स्ट्रबेरीको बिरुवा ल्याएका हुन् । उनको बारीमा यही असोजमा लगाइएका स्ट्रबेरीका बिरुवाले फल दिन थालिसकेको छ । बिरुवाले पुषबाट फल दिन लागेको हो । चितवनको हावापानीमा फागुनसम्म यसले फल दिने आशा मनोजको छ ।

अहिले बजारमा ७०० रुपैयाँ किलोमा उनले स्ट्रबेरी बेचिरहेका छन् । उनले चितवनका फलफूल पसलहरुमा लगेर बेच्ने गरेका छन् । उनले अहिलेसम्म २५ हजारको स्ट्रेबरी बेचिसकेको बताउँछन् । 

मनोजले स्ट्रबेरी खेती मात्र गरेका छैनन् । उनले तरकारी खेती पनि गरिरहेका छन् । दाई सरोज कोइरालासँग मिलेर दुबैको संयुक्त लगानीमा ‘ग्रिन भ्याली एग्रिकल्चर फर्म एण्ड रिसर्च सेन्टर’को नाममा कृषि व्यवसाय दर्ता गरी मनोजले खेती गरिरहेका छन् । 

मनोजले २०७३ सालबाट तरकारी खेती गर्न सुरु गरेका हुन् । अहिले १० विघामा तरकारी खेती गरिरहेका छन्, जसमध्ये ४ बिघा आफ्नै हो । तरकारी बिक्रीबाट महिनाको ३ लाख जति नाफा भइरहेको मनोजले बताए । उनको बारीमा दैनिक १० जनाले रोजगारी पाइरहेका छन् । सिजनको बेला २० जनालाई रोजगारी पुग्छ । 

सरकारबाट ०७४ सालमा मनोजले ४० लाखको नेट हाउसमा २६ लाख अनुदान पाए । त्यस्तै ०७५ सालमा डेढ लाख पर्ने हाते ट्रयाक्टरमा आधा रकम अनुदान पाएको उनले बताए । ‘नेट हाउसमा गर्मीको समयमा एकदमै राम्रो छ । जाडोको पुष महिनामा भने यसको प्रभावकारी कम छ । बनाउँदा खेरी पानी नजम्ने (टाँडी जग्गा) र घाम पर्ने साइडमा बनाउनुपर्छ’ उनले भने । 

चितवनमा जन्मिएका ४० वर्षीय मनोज कोइरालाले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट एजीमा स्नातक (बीएस्सी) गरे । त्यसपछि स्नातकोत्तर (एमएस्सी) पढ्नका लागि उनी जर्मन पुगे । कृषि पढेका मनोजलाई खेतीबारी सम्बन्धी वैज्ञानिक र व्यावसायिक ज्ञान थाहा नहुने कुरै भएन । त्यही पढेको ज्ञानलाई उनले खेती गरेर व्यवहारमा उतारिरहेका छन् । उनीसँग १० वर्ष सरकारी प्रोजेक्टमा रहेर कृषि क्षेत्रमा काम गरेको अनुभव पनि छ । विगतमा एनजिओ, आइएनजिओमा रहेर पनि कृषि क्षेत्रमा काम गरेको उनले सुनाए ।

सरकारलाई मनोजको आग्रह 
नेपालको भौगोलिक विविधताका कारण यहाँ सबै थोक फल्न सक्ने मनोजको बुझाइ छ । सरकार र किसान दुबैले लागेर काम गर्ने हो भने बाहिरबाट केही ल्याउनु नपर्ने उनलाई लाग्छ । 

‘पहाडका डाँडाहरु नाङ्गा छन् । तर त्यही डाँडा फलाउन सकिने विभिन्न खेती हुन्छन्, जुन हामी बाहिरबाट अर्बौंको आयात गरिरहेका हुन्छौँ’ उनी भन्छन्, ‘अनुसन्धान गरेर कहाँ के फल्छ भनेर पत्ता लगाउने र किसानहरुलाई सल्लाह दिने काम सरकारले गर्नुपर्छ ।’

‘ओखर, रबरलगायतको खेती पनि नेपालमै गर्न सकिन्छ । त्योे सब बाहिरबाट अर्बाैंमा आइरहेको छ’ उनी भन्छन्, ‘सरकारी तवरबाट सबै बालीको व्यापक अनुसन्धान गर्नुपर्छ । धान, गहुँलाई मात्र प्राथमिकतामा राखेर अनुसन्धान गरेर पुग्दैन ।’ 

‘जस्तै मैले जोखिम मोलेर चितवनमा स्ट्रबेरीको अनुसन्धनात्मक खेती गरेको छु । वास्तवमा यो काम सरकारले गरेर किसानलाई जानकारी दिनुपर्ने हो’ उनी भन्छन् ।

रोगकीरा लागेमा त्यसको अनुसान्धान गरी समस्याको समाधान गर्न किसानलाई सरकारी विज्ञको आवश्यक भएको उनले महसुस गरेका छन् । त्यस्तै किसानको पहुँचमा हुने कृषि प्रयोगशालाको आवश्यक छ । 

उनका अनुसार कुन जिल्लामा कुन खेती कति क्षेत्रफलमा गरिएको छ भन्ने सबै डाटा सरकारी निकायसँग हुनुपर्छ । त्यसो भएमा कृषि व्यवसाय गर्न चाहने नयाँ किसानलाई लगाउने बालीको छनौट गर्न सजिलो हुन्छ । उसले उक्त जिल्लामा सम्भावना भएको तर कम खेती गरिएको बाली लगाउन सक्छ । त्यो कम छ कि बढी भन्ने कुरा पत्ता लगाउने काम सरकारी तथ्याङ्कले बताउन सक्नुपर्छ । कम खेती गरिएको बाली लगाएमा बजारको समस्या हुँदैन र मूल्य पनि उचित पाइने हुँदा किसान घाटामा जाने सम्भावन धेरै नै कम हुन्छ ।

‘सरकारले मलको व्यवस्था उचित समयमा गराउनुपर्छ । बारीमा मल हाल्ने बेलामा बजारमा मल अभाव हुन्छ । चाहिने बेलामा आवश्यक मलजल दिन सकेमा खेती फस्टाउने हो । ढिला गरी मल दिँदा त्यसको प्रभावकारिता घटेर जान्छ’ उनले भने ।

उनको भनाइअनुसार थोपा सिँचाइ गर्नेहरुका लागि घुलनसशील मलको आवश्यक छ । त्यसको लागि यो मलको पनि उचित मूल्यमा व्यवस्था हुनुपर्छ । हाइब्रेड बीउ नेपालमै उत्पादन हुनुपर्छ । बीउको आयात रोकिएमा हामीले केही फलाउन सक्ने अवस्था छैन । 

के हो स्ट्रबेरी ?
स्ट्रबेरी फ्रागार्या प्रजातिको बिरुवा हो । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको  रूपमा खान सकिन्छ । साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेक, फ्लेबर बनाउने गरिन्छ । यो फललाई पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ । यसमा भिटामिन सी लगायतका विभिन्न खनिज तत्वहरु पनि पाइन्छ ।

एजीमा एमएस्सी गरी अमेरिकामा स्ट्रबेरी खेतीमा तीन वर्ष काम गरेको अनुभव भएका कृषि विज्ञ एवं बेरी संसारका सञ्चालकमध्येका एक ससन देवकाटाका अनुसार स्ट्रबेरीको एउटा बोटबाट ६०० ग्रामदेखि एक किलोग्रामसम्म फल फल्छ । यसको फललाई फ्रिजमा राख्दा ४/५ दिनसम्म टिकाउन सकिन्छ । सामान्यरुपमा बाहिर राख्दा २/३ दिनसम्म यसको फल कुहिँदैन । फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास भई टिप्न लायक हुन्छ । स्ट्रबेरीको बिरुवा रोपेको दुई महिनापछि यसले फल दिन थाल्छ । यसले दुई महिनासम्म फल दिन्छ । यस अवधिमा फुल फुल्ने, फल लाग्ने र टिप्ने क्रम चलिरहन्छ ।

ससन देवकाटा

स्ट्रबेरीको खेती चिसो मौसममा हुने गर्छ । यसको विश्वव्यापी खेती गर्ने गरिन्छ । प्राय जसो अमेरिका लगायतका युरोपियन मुलुकहरुमा यसको व्यावसायिक खेती धेरै गरिने गरेको देवकोटाले जानकारी दिए । विशेष गरी स्ट्रबेरी सामुन्द्रिक सतहदेखि २ हजार मिटरसम्मको उचाईंमा गर्नु राम्रो हुन्छ । यसको फूल फुल्नका लागि १५ डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यक पर्दछ । तर हिउँ पर्ने अर्थात् तापक्रम माइनसमा हुने स्थानमा पनि यसको खेती गर्न सकिंदैन । त्यस्तै ३५ डिग्री सेल्सियस तापक्रमभन्दा माथिको हावापानीमा पनि यसको खेती सम्भव हुँदैन ।

स्ट्रबेरी चिसो हावापानीमा फस्टाउने बाली भए पनि जैविक प्रविधि विकासले यसका विभिन्न जातलाई तुलनात्मक रुपमा गर्मी मानिएका ठाउँमा समेत उत्पादन गर्न सम्भव हुने बनाएको छ । फलस्वरुप वातावरणीय दृष्टिकोणले उष्ण मानिएका विश्वका कैयौं ठाउँमा स्ट्रबेरी उत्पादन सफल भएको छ । 

नेपालमा स्ट्रबेरीको वर्तमान अवस्था र संभावना
विश्वका अन्य ठाउँमा भएको उत्पादनलाई हेर्ने हो भने नेपालका भित्री मधेस, उपत्यकालगायत तराईमा पनि यसको उत्पादन गर्न सकिने सम्भावना देवकोटाले देख्छन् ।

तर नेपालमा यसको खेती खासै गरेको पाइदैन । दुई दशक अगाडि जाइती नेपालले जापानी जातका बिरुवा ल्याएर नुवाकोटको ओखरपौवामा यसको खेती गरेको थियो । यसपछि नेपालमा स्ट्रबेरीको व्यावसायिक खेती सुरु भएको हो । हाल यसको खेती नुवाकोट, काडमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी र चितवनमा व्यावसायिक रुपमा गरेको पाइन्छ । 

बेरी संसारले तराईमा स्ट्रबेरी खेतीको अनुसन्धान गरिरहेको छ । यही क्रममा यसले विभिन्न जिल्लाका किसानहरुलाई प्रयोग गरेर यसको खेती विस्तारको सम्भावनाको अध्ययन गरिरहेको छ । नेपालमा स्ट्रबेरीको बिरुवा लगाउँदा तराईमा असोज र पहाडमा भदौमा लगाउनु पर्छ । तराई र पहाडमा छुट्टाछुट्टै जातको बिरुवा लगाउनु पर्छ । बेरी संसारले विशेष गरी अमेरिका र उरुग्वेबाट बिरुवा नेपाल भित्र्याउने गर्छ ।

यसरी गरिन्छ स्ट्रबेरीको व्यावसायिक खेती 
विज्ञ देवकोटाका अनुसार यसको खेती दोमट माटोमा गर्नु राम्रो हुन्छ । ७०–९० सिएमको चौडाई भएको ड्याङ् बनाएर ३०–३५ सिएमको अन्तरमा बिरुवा रोप्नुपर्छ । एउटा ड्याङ्मा दुई लाइनमा बिरुवा लगाउनुपर्छ । ड्याङ्हरुबीचको दुरी ४५ सिएम हुनुपर्छ । 

यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पुर्‍याउनु पर्दछ । माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनु पर्दछ ।

यसका जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन । यसको लागि कालो रङको मल्चिङ प्लाष्टिक प्रयोग गर्नुपर्छ । यसले चिस्यान पनि कायम रहन्छ र झारपात पनि पलाउन दिँदैन । यसको खेतीका लागि थोपा सिंचाइ गर्नु राम्रो हुन्छ । जसबाट घुलनशील मल पनि दिँदा राम्रो हुन्छ । 

कसरी गरिन्छ स्ट्रबेरीको बिरुवा उत्पादन ?
यसको बिरुवा तयार गर्दा फल फलिसकेका रनर्सलाई प्रयोग गरिन्छ । एउटा स्वस्थ्य बिरुवाबाट १२/१८ वटासम्म रनर्स तयार गर्न सकिन्छ । माउबोटबाट निस्केका लहराहरु भुईंको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्कन्छन र नयाँ रनर्सको विकास हुने देवकोटा बताउँछन् । 

माघ–फागुणमा लगाईएको बिरुवा जेष्ठ–आषाढमा रनर्सको रुपमा विकसित हुन्छन र तिनीहरुलाई नर्सरी ब्याडमा सारेर हुर्काएपछि भदौ–आश्विन बगैंचामा सार्नको लागि तयार हुन्छन् ।

सम्बन्धित प्राविधिक ज्ञान भएको मानिसबाट यसको बिरुवा उत्पादन गर्नुपर्छ । फल उत्पादन गर्न प्रयोग गरिएको बिरुवालाई नै नयाँ बिरुवा उत्पादनमा प्रयोग गर्न सकिन्छ तर यस्तो गर्दा बिरुवाको उत्पादन क्षमता घट्नुका साथै रोग किराको प्रकोप बढ्छ । त्यसै गरी यसको जातीय गुणहरु पनि क्रमश क्षय हुँदै जान्छ । यसैले फल दिने बोटबाट नभएर तन्तु प्रजननबाट तयार गरिएका स्वस्थ माउ बोटलाई बिरुवा उत्पादन गर्ने अत्याधुनिक नर्सरीमा प्रसारण सम्बन्धी प्राविधिक ज्ञान भएको विज्ञबाट गर्नुपर्ने देवकोटाले बताए । 

प्रतिक्रिया दिनुहोस