दुर्गम गाउँका चेपाङ विद्यार्थीलाई सीजीले बाँड्यो न्यानो ज्याकेट

सूर्यप्रकाश कँडेल

मंगलबार, २९ पुस २०७६, १६ : २५
दुर्गम गाउँका चेपाङ विद्यार्थीलाई सीजीले बाँड्यो न्यानो ज्याकेट

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना ३ मा मंगलबार एउटा बेग्लै दृश्य देखियो । कुहिरोले डम्म ढाकेको गाउँमा तीन वटा जीप पुग्दा गाउँलेहरु दंग परे । तीन जीपमध्ये एउटामा इच्छाकामना गाउँपालिकाका पदाधिकारी थिए भने बाँकी दुई वटा जीपमा थिए सीजी फाउण्डेसनका कर्मचारी र उनीहरुले ल्याएको न्यानो ज्याकेट ।

नेपालका अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपको सीजी फाउण्डेसनले मंगलबार इच्छाकामना गाउँपालिकाको दुर्गम गाउँका ३१ जना चेपाङ विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । इच्छाकामना गाउँपालिकाको ओरेक गाउँमा रहेको गणेश राष्ट्रिय आधारभुत विद्यालयका तीनसम्मका ३१ जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको हो । 

समाजसँग सहकार्य अभियान अन्तर्गत चौधरी ग्रुपले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रममा ज्याकेट लिन आउने कतिपय विद्यार्थी एकसरो सर्टको भरमा र कतिपय खाली खुट्टा समेत आएका थिए । गणेश राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक अर्जुन सापकोटाले गरिबीको कारण जाडोमा कष्टकर दिन बिताइरहेका विद्यार्थीलाई सीजीले न्यानो कपडा वितरण गरेर पुण्यको काम गरेको बताए ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले गाउँपालिकाभित्र जनजाति र दलित गरी दुई हजार चार सय जना रहेको र चेपाङ समुदायका मात्रै एक हजार छ सय जना रहेको जानकारी दिए । उनले अशिक्षा र गरिबीको कारण पछाडि परेका समुदायका बालबलिकालाई न्यानो कपडा वितरण गरेर सीजीले परोपकारी काम गरेको बताए ।

गाउँपालिकाकी प्रवक्ता सावित्री गुरुङले चेपाङ समुदायमा सरसफाईप्रति सचेतना नहुँदा जाडोको बेला बालबालिकाले रोगव्याधिको सामना गर्नु परेको बताइन् । उनले जाडोमा न्यानो प्रदान गर्न सीजीले ज्याकेट वितरण गर्नु प्रशंसायोग्य भएको बताइन् ।

चौधरी उद्योग ग्राम दुम्कौलीका महाप्रबन्धक रामकाजी सिटौलाले सामाजिक उत्तरदायित्व अन्तर्गत सीजीले चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जानकारी गराउँदै आगामी दिनमा पनि गाउँमा रहेका विपन्नको सहयोगका लागि सीजीले काम गर्ने बताए ।

गणेश राष्ट्रिय आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोकबहादुर प्रजाले चेपाङका छोराछोरीलाई जाडोमा ज्याकेट वितरण गरेर सीजीले गुन लगाएको बताए । उनले अन्य गाउँका चेपाङ केटाकेटीलाई पनि सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे । चौधरी ग्रुपका अशोक बस्ताकोटीले सीजीको सहयोग आगामी दिनमा पनि कायम रहने बताए ।

प्रतिक्रिया दिनुहोस