माल नकिनी विजकमात्रै खरिद गर्ने गिरीद्वारा २१ करोड राजस्व छली

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०७६, ११ : ३१
माल नकिनी विजकमात्रै खरिद गर्ने गिरीद्वारा २१ करोड राजस्व छली

काठमाडौं । झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी एक व्यक्तिले २१ करोड बढीको राजस्व छली आर्थिक अपराध गरेको पाइएको छ । 

यसरी राजस्व छल्नेमा काठमाडौं महानगरपालिका ७ बस्ने यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले रु २१ करोड १८ लाख विगो बराबरको राजस्व चुहावट गरेको आरोप राजस्व अनुसन्धान विभागको छ । 

वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । 

यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवा नामको कम्पनी खडा गरी उनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि करको विजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेका हुन् ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मुल्य अभिवृत्तिकरतर्फ रु छ करोड आयकरतर्फ रु १५ करोड १७ लाख राजस्व चुहावट गरेकोको पाइएको छ ।  

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम हुने जम्मा विगो कुल रु २१ करोड १८ राजस्व चुहावट गरेको आरोप छ ।  

आरोपी यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवाका प्रोप्राइटर प्रकाशराज गिरीलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) बमोजिम काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मुद्दामा विगो रकम रु २१ करोड १८ असुल गरी विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दावी गरिएको विभागले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस