इराकबाट नेपाली उद्धारको पहल : अन्तरनिकाय समन्वय समिति गठन गर्दै सरकार

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, २० : ३१
इराकबाट नेपाली उद्धारको पहल : अन्तरनिकाय समन्वय समिति गठन गर्दै सरकार

फाईल फोटो

काठमाडौँ । सरकारले इरान र इराकमा रहेका नेपाली नागरिक उद्धार गरी फिर्ता ल्याउन अन्तरनिकाय समन्वय समिति गठन गर्ने भएको छ । इराक स्थित अमेरिकी सेनाको क्याम्पमा इरानले मिसायल आक्रमण गरेको भोलिपल्ट सरकारले थप पहल अघि बढाएको हो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा आज बसेको सरोकारवालासहितको बैठकले त्यस क्षेत्रका नेपाली नागरिक उद्धार तथा सुरक्षाका लागि अन्तरनिकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि इराकमा रहेका नेपाली फिर्ता ल्याउने बिषयमा सरकारले ‘वेट एण्ड सी’ को नीति अपनाएको थियो । 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रक्षा मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्थ मन्त्रालय, गृह मन्त्रालय नेपाली सेनास वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च अधिकारीहरूको उपस्थिति थियो । 

बैठकमा छलफलका क्रममा पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियालेर आवश्यकता अनुसार त्यस क्षेत्रका नेपालीको उद्धारको तयारी गर्न समितिमा आवद्धले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।सोका लागि गन गर्न लागिएको समितिमा परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्व रहने मन्त्रालयले जनाएको छ ।

उसको मातहतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि समितिमा रहनेछन् ।  यसअ अघि श्रम मन्त्रालय, परराष्ट्र र गृह मन्त्रालयबीच आइतबार बैठक बसेको थियो । 
इरानका सैन्य जर्नेल कासिम सुलेमानी अमेरिकाको ड्रोन आक्रमणमा मारिएपछि इरान र अमेरिकाबीच तनाव बढ्दो छ । वाकयुद्ध हुँदै मिसायल आक्रमण गरेर इरानले युद्धको संकेत गरीसकेको छ । मिसायल खसेको स्थानको एककिलोमिटर पर इर्बिलमा शान्ति सेनाको बेसक्याम्प रहेको छ । जहाँ ९ जना नेपाली सैनिक तैनाथ थिए । क्रिकुक शहरस्थित शान्ति सेनाको बेसक्याम्पमा रहेका थप नेपाली सेना गरी कुल ७७ शान्ति सेना इराकमा रहेका छन् ।

अमेरिकी वेवसाईट ह्याक
इरान अमेरिकी तनावको बढ्दो क्रममा बिहीबारमात्र इरानी ह्याकरले अमेरिकाको सरकारी वेवसाइट ह्याक गरी थप चुनौती दिएको छ । उसले यसअ अघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोकिसकेको छ । अमेरिकाले पनि इराकबाट आफ्नो सैन्य टुकडी फिर्ता नलगी युद्धको तयारी गरेको संकेत गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले. हालै आफ्नो धारणा सार्वजनिक गर्दै युद्धमा नजाने बताए पनि दुई देशबीचको मतभेद रोकिने छाँट नदेखिएको विश्लेषकहरु बताउँछन् ।

युद्धमा  भएको खण्डमा त्यसले इरानी, इराकीसँगै त्यहाँ काम गर्न पुगेका नेपाली कामदारको ज्यान संंकटमा पर्न सक्छ । इराकमा सुरक्षा गार्ड, वेटर, कुक, सेल्सम्यान तथा घरेलु कामदारका रुपमा नेपाली रहेका छन् । सरकारले त्यहाँ काम गर्न वैधानिक स्विकृति नदिएको भएपनि अन्य बाटो भई इराक पुगेको झण्डै १५ हजार नेपाली रहेको अनुमान छ । आफ्नै प्रयासमा केही नेपालीहरु फर्किएका छन् । 
 

प्रतिक्रिया दिनुहोस