चिसोले रसुवाको जनजीवन कष्टकर

बुधबार, २३ पुस २०७६, २० : ४३
चिसोले रसुवाको जनजीवन कष्टकर

प्रतिकात्मक फोटो

काठमाडौँ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो । 

चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई बढी प्रभावित बनाइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

माथिल्लो भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परिरहेका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोले बढी समस्यामा पारेको ठूलोस्याफ्रुका  ल्हाक्पाग्याल्बो तामाङले बताउनुभयो । तातो खानेकुरा खान, घरभित्र कम्बल ओढेर बस्न, कम स्नान गर्न तथा हातगोडा तातोपानीले धुन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।