प्रदेश सांसदले दिए अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की

पत्रपत्रिकाबाट

आइतबार, २० पुस २०७६, ०७ : ४४
प्रदेश सांसदले दिए अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की

काठमाडौं । प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् ।

सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस गर्दै १२ दिनदेखि कार्यालय गएका छैनन् । प्रदेश २ सरकारमा रहेको समाजवादी पार्टीका सांसद यादवले नगरपरिषद् रोक्न दबाब दिँदै प्रशासकीय अधिकृतलाई धम्की दिएका हुन् ।

आफूले जिल्ला सीडीओ, एलडीओलाई समेत नटेरेको बताउँदै नगरपालिकाको सामान्य कर्मचारी भएर कुरा नटेर्ने भन्दै महतोलाई गत आइतबार भौतिक कारवाही गर्ने धम्की दिएको अडियो रेकर्डले पुष्टि गरेको छ ।

प्रशासकीय अधिकृतलाई जे पनि गरिदिने भन्दै धम्क्याएपछि मोबाइल वार्ताको रेकर्डसहित सर्लाही जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । लातको भूत बातले मान्दैन भन्दै सांसद यादवले कर्मचारी महतोसित नगरपालिकाको काम र बजेट आफूसित सोधेर मात्र गर्नु भन्दै धम्क्याएका संवाद उक्त अडियो रेकर्डमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस