श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, फोन राख भन्दाभन्दै...

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, १६ : ३०
श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, फोन राख भन्दाभन्दै...

गोर्खा । सुन्दा पनि लाग्छ, कुनै एउटा फिल्मी कहानीजस्तो । नहुनु थियो, भइदियो त्यस्तै । आखिरी दैवले लेखेको हुन्छ भन्छन् नि, कल्पना नै नगरेका ब्रजपात अर्जुन थापाको परिवारमा भएको छ । रोदनमा डुबेको छ, यतिबेला उनको परिवार । 

गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन थापाको सानैदेखि सेनामा जागिर खाने ठूलो धोको थियो । सानैमा अर्जुनलाई छिमेकमा के भन्छस् बाबु भन्दा उनले यसो भन्थे अरे, ‘म त बन्दुक समाउन पाइने जागिर खाने हो, सेना बन्ने हो ।’

पढाइमा सिपालु नै थिए । चलाख पनि थिए । एसएलसी पास गरे । जुँगाको रेखी बाक्लिदै थियो । गाउँ नजिकैको स्कुलमा कक्षा ११ मा भर्ना भए । पढाइ चलिरहेको थियो । गाउँकै साथीहरुले भारतीय सेनामा जागिर खुलेको जानकारी उनको कानसम्म ठोक्काए । 

सेनाको जागिर खाने ठूला इच्छा थियो अर्जुनको । गाउँकै केही साथीहरुसँग मिलेर भारतीय सेनामा भर्ना हुन पढाइ नै छोडेर गए । आँट, साहस र उच्च आत्मविश्वासले गर्दा उनको भारतीय सेनामा नाम निस्कियो । 

नाम निस्केपछि गाउँभरि खुसी साटासाट गरेको अस्तिजस्तो लाग्छ छिमेकीहरुलाई । तर भारतीय सेनामा भर्ती भएका पनि पाँच वर्ष बितेको रहेछ । 

 त्यो कालो दिन 

एक महिनाको बिदा सकेर पुस ५ गतेमात्र कार्यक्षेत्र कास्मिर गएका थिए । पुस १५ गते मंगलबार साँझतिर उनले मोबाइलबाट अनलाइनमा श्रीमतीसँग कुराकानी गरिरहेका थिए ।

विवाह गरेको छ महिनामात्र भएको थियो । बेलाबेला श्रीमतीसँग अनलाइनमा कुरा गरिरहन्थे । मंगलबार उनले आफू यतिबेला युद्ध मैदानमा नै रहेको र तिम्रो न्यास्रो लाएर कुराकानी गर्न अनलाइन खोलेको श्रीमतीलाई भनेका थिए । श्रीमतीले सुरक्षित रहनुहोस् भन्दै थिइन् । त्यतिबेला गोली चल्यो । 

उनले भने– गोली चलेजस्तो छ, फोन राख अब पछि कुरा गरौँला । श्रीमतीले जवाफ दिइन् लल । एकछिनमै फेरि श्रीमतीले फोन गरिन् । स्वीच अफ भयो ।  

बिहीबार बिहानै भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीसहित दुई भारतीय सेनाको मृत्यु भएको खबर भारतीय सञ्चारमाध्यमहरुमा छायो ।  

नयाँ वर्षको पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर कहिल्यै नआउने गरी बिदा भए । 

अर्जुनसँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ ।

भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको  छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ । नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने भएको छ ।  

अर्जुनको घरमा सन्नाटा 

यतिबेला अर्जुनको घरमा सन्नाटा छाएको छ । पूरै परिवार शोकमा डुबेका छन् । यतिबेला ठूले रिप सिङ्गो गाउँ नै शोकमा डुबेको छ । अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘दुई वर्षअघिमात्र आमा गुमाएको थियो अर्जुनले, कस्तो कर्म लिएर आएछ नि, विवाह गरेको जम्मा छ महिनामात्र भएको थियो ।’

तनहुँ दुले गौँडा अर्जुनको ससुराली घरमा पनि यतिबेला सन्नाटा छाएको छ । 

गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका थिए । त्यसपछि गाउँ नजिकैको ११\१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भए ।

मामा सुजीतले भने, ‘भाञ्जा त घरको एक्लो छोरा हुन् । बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । कमाएर पाल्ने भाञ्जा नै थिए ।’ 

प्रतिक्रिया दिनुहोस