नेपाल वायु सेवा निगमलाई खरेलले बनाए कमाइ खाने भाँडो

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १३ : ०७
नेपाल वायु सेवा निगमलाई खरेलले बनाए कमाइ खाने भाँडो

काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आशीर्वादमा निगमका प्रमुख बनेका झापाका मदन खरेलले कमाइ खाने भाँडो बनाएका छन् ।

प्रधानमन्त्री मेरो मुठ्ठीमा छन्, अरु सबैलाई चुपचाप राख्न सकिन्छ भन्दै निगमका कार्यकारी अध्यक्ष समेत रहेका खरेलले निगमलाई कमाइ खाने भाँडो बनाएका कारण थप असन्तुष्टि उत्पन्न भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्किस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेपछि उक्त कुराको थप खुलासा भएको हो । 

टर्किस एयरलाइन्स कम्पनीसँग सचिवालयले गत पुस ४ गते सम्झौता गरेको छ । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको हो । निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग इच्छा व्यक्त गरेको थियो । तर, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई उपेक्षा गर्दै विदेशी एयरलाइन्ससँग सम्झौता गरिएको भन्दै निगम असन्तुष्ट बनेको छ । 

टर्किस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स बनाउने काममा मोटो रकम लिएर खरेल नै लागेको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टरराई समक्ष पुगेको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक समीक्षाका बेला निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष आधिकारिक एयरलाइन्सका लागि अपेक्षा गरिएको जानकारी मात्रै गराएको थिएन, त्यसका लागि गर्नुपर्ने सबै काम गर्ने अवगत समेत गराएको थियो ।

महत्त्वपूर्ण जिम्मेवारी दिन पाइने भयो भन्दै मन्त्री भट्टराईले निगमको प्रस्तावलाई सकारात्मक रुपमा लिएका थिए । उनले त्यसको आवश्यक तयारी गर्न समेत निगम नेतृत्वलाई निर्देशन दिएका थिए । तर मन्त्रीको निर्देशन भुईमा खस्न नपाउँदै उनै निगमका अध्यक्ष खरेलले सो कुराको जानकारी टर्किस एयरलाइन्सलाई गराएको जानकारहरुको भनाइ छ ।

उक्त सूचना पाएलगत्तै टर्किस एयरलाइन्स र खरेलबीच सुरासहितको बैठक भएको थियो । खरेलले निगमको कुरा छाड्नुस्, प्रधानमन्त्री मेरो मान्छे हो, उहाँलाई कन्भिन्स गराएरै भएपनि निगमभन्दा अगाडि नै टर्किसलाई जिम्मेवारी दिलाउन पहल हुनेछ भन्दै खरेलले विश्वास दिलाएका थिए । निगमलाई अधोगतितिर लैजान सबै प्रकारका काम गर्दै आएका खरेललाई राजीनामा दिन मन्त्री भट्टराईले पटक पटक निर्देशन दिएपनि खरेलले म तपाईले नियुक्त गरेको मान्छे होइन, मलाई प्रधानमन्त्रीले नियुक्त गरेका हुन्, जवाफ दिनु परे उतै दिउँला भन्दै मन्त्रीलाई समेत नटर्ने गरेका छन् ।

नेपाल वायुसेवा निगमले मन्त्रालयमा गरेको प्रस्तुतिमा भनिएको थियो, भिजिट नेपाल इयर लोगो एयरबस जहाजमा राख्न ग्लोबल सील कोटेसन माग गरिसकिएको छ । सोका लागि मन्त्रालयबाट आधिकारिक एयरलाइन्सको लागि अपेक्षा गरिएको छ । सबै तयारी गरिएपनि निगमलाई आधिकारिक विमानको स्वीकृति दिइएन । जसका कारण निगमको तयारी समेत अलपत्र भएको छ । 

भ्रमण वर्ष सचिवालयले अफिसियल एयरलाइन्सका रुपमा सम्झौता गरेको कम्पनीले काठमाडौंलाई एक गन्तव्य टर्कीलाई मात्र जोड्छ । नेपाल एयरलाइन्सले अहिले ९ गन्तब्यमा काठमाडौंलाई जोडिरहेको छ । निकट भविष्यमा चीनसहित १० गन्तव्यमा निगमको जहाज उड्दैछ ।

सचिवालयले बेलायतसहित यूरोप र अमेरिकामा सामान ढुवानी गर्न टर्कीस एयरलाइन्स प्रयोग गर्ने दावी गरेको छ । अमेरिका र यूरोपमा हुने ट्राभल एण्ड टूर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्त रुपमा प्रचार गर्ने टर्किसका दलालहरुले प्रचार गराएका छन् ।  नेपाल भ्रमण वर्षको समाचार संकलनमा  आउने निश्चित पत्रकारलाई कम्पनीले हवाइ भाडा व्यहोरिदिने समेत दावी गरिएको छ ।भ्रमण वर्ष सचिवालयका उच्च अधिकारीहरु भने भ्रमण वर्षका दौरान एकभन्दा बढी वायुसेवा कम्पनीलाई समेत ‘अफिसियल एयरलाइन्स’ बनाउन सक्ने तर्क गर्दै उक्त निर्णय नम्बरी निर्णय भएको दावी मात्रै गर्दैनन्, यस निर्णयमा प्रश्न उठाउनेको बुद्धि नै नभएको कतर्क समेत गर्छन् । 

भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठ टर्किस एयरलाइन्सको खास प्रवक्ता बनेका छन् । निगमलाई अगाडि बढ्न नदिने अभियानमा उनै श्रेष्ठ समेत लागेका थिए ।  उनले तर्क गर्ने गरेका छन्, एकभन्दा बढी एयरलाइन्स यो अभियानको अफिसियल पार्टनर बन्न सक्छन् । कम्पनीहरु सहकार्यका लागि प्रस्तावसहित आए सचिवालय सम्झौता गर्न तयार रहेको उनले कुतर्क गरेका छन् ।

निगमका अध्यक्ष खरेललगायतका अधिकारीहरु भने सरकारी स्वामित्वको कम्पनी भएका कारण स्वतः आधिकारिक एयरलाइन्स निगम नै भएको बताउँछन् । हामी सरकारी निकाय हौं, सरकारी अभियान नै भएकाले हामी स्वतः आधिकारिक एयरलाइन्स हुनुपर्ने हो,’ निगमका अधिकारीले सार्वजनिक रुपमा नै बताएका छन् ।  

मन्त्रालयबाट औपचारिक एयरलाइन्स बन्न अपेक्षा गरेको निगमले आफ्नो सबै जहाजमा भ्रमण वर्षको लोगो टाँसिसकेको छ । निगमका ४ वटा जहाज सोही लोगो बोकेर अन्तर्राष्ट्रिय गन्तब्यमा उडिरहेका छन् । आन्तरिक जहाज र सबै सवारीसाधनमा समेत निगमले भ्रमण वर्षको लोगो राखेको छ । निगमले आफ्नो जहाजमा दिने खाद्यान्न्नको प्याकेजमा भ्रमण वर्षको लोगो राखेर प्रवद्र्धन गर्न थालिसकेको छ ।

निगमले अन्तर्राष्ट्रिय स्टेशनमा प्रचार प्रसार गर्ने र सामाजिक सञ्जालबाट पनि प्रचार तीव्र बनाउने योजना समेत बनाइसकिएको छ । सधै टिकट सकिएको र नभएको बताउने निगमले टिकट बिक्री कक्ष साँझ ७ बजेसम्मका लागि खुला राख्ने गरी समय थप समेत गरेको छ । काठमाडौंका करीव १ सय होटेल तथा टूर कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने पर्यटकलाई बाह्य स्टेशनबाट प्याकेजमा हवाई टिकट बिक्रीको व्यवस्था गर्ने योजना समेत बनाइएको थियो । 

टर्कीस एयरलाइन्स र भ्रमण वर्ष सचिवालयबीच भएको सम्झौता अनुसार नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्स टर्किस एयरलाइन्स हुने भनेको छ । टर्कीसले नेपाल भ्रमण वर्षको आधिकारिक एयरलाइन्सका रुपमा लोगो प्रयोग गर्ने अधिकार पाएको छ ।

प्रतिक्रिया दिनुहोस