यी हुन् प्रदेश नम्बर ७ को सभामुख पदका लागि एक्ला उम्मेदवार

शनिबार, २७ माघ २०७४, २० : १०
यी हुन् प्रदेश नम्बर ७ को सभामुख पदका लागि एक्ला उम्मेदवार

धनगढी । प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ ।

शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिकाबमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सचिवालयका सचिव मुरारी महतले जानकारी दिए ।

सभामुखमा थापाको उम्मेदवारीको प्रस्तावकमा एमालेका सांसद दीर्घबहादुर सोडारी र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद् त्रिलोचन भट्ट रहेका थिए  सभामुखमा थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।

यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ २८ गते दर्ता भएको प्रस्तावमाथि दाबी विरोध गर्ने र दर्ता भएको उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, र माघ २९ गते बस्ने प्रदेशसभाको बैठकमा दर्ता भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद थापालाई प्रदेश सभाको सभामुखमा उठाउने निर्णय गरेको थियो ।

एमाले र नेकपा माओवादी केन्द्र बीचको सहमतिअनुसार यो प्रदेशको मुख्य मन्त्रीमा माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले लिनेछन् ।

संसदीय दलको नेताका आकांक्षी 
७ नंं प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा ९एमाले०मा संसदीय दलको नेताका आकाँक्षीमा चारजना देखिएका छन् ।

एमाले कैलालीका अध्यक्ष एवं प्रदेशसभा सांसद दीर्घ सोडारी, बाजुराका प्रकाश शाह, डडेलधुराका पठानसिं बोहरा, कञ्चनपुरका तारालामा तामाङ संसदीय दलको नेताका लागि दौडधुपमा छन् ।

माओवादी केन्द्रले भने प्रदेशको मुख्य मन्त्रीमा प्रस्ताव गरिएका डोटीका सांसद त्रिलोचन भट्टलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि कैलालीबाट निर्वाचित डा रणबहादुर रावल, डडेलधुराबाट निर्वाचित कर्णबहादुर मल्ल र डोटीका भरतबहादुर खड्काको नाम चर्चामा छ ।

कूल ५३ सांसद रहेको यो प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् । रासस

प्रतिक्रिया दिनुहोस