समाजवादी पार्टी अब संसदमा प्रतिपक्षीको भूमिकामा रहने

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १५ : १५
समाजवादी पार्टी अब संसदमा प्रतिपक्षीको भूमिकामा रहने

काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको हो ।

बैठकलगत्तै  पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ । 

विज्ञप्तिमा सरकारले २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको २ बुँदे सहमतिबाट सरकार पछि हटेको र एकतर्फी रुपमा तोडेको आरोप समेत लगाइएको छ । सरकारले सहमति उल्लंघन गरेको आरोप लगाउँदै सो पार्टी पुस ८ गते सरकारबाट बहिर्गमन भएको थियो ।

प्रतिक्रिया दिनुहोस