उपेन्द्रले एकाएक किन ल्याए यस्तो प्रस्ताव ?

क्याबिनेटमा प्रस्ताव कसरी आउँछन्, त्यो तपाईलाई थाहा छ ? ‘स्टप इट’ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, ०८ : ३४
उपेन्द्रले एकाएक किन ल्याए यस्तो प्रस्ताव ?

काठमाडौं । उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद् बैठकमा एउटा प्रस्ताव लिएर गए । उनले लगेको प्रस्तावप्रति प्रधानमन्त्री केपी ओलीले कडा आपत्ति जनाउदैं उपेन्द्रलाई हकारेका छन् । प्रसंग हो – हिजो सोमबारको । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो । नियमित बैठक भएकाले प्रधानमन्त्री कार्यालयमा रहेका सबै प्रस्तावहरु माथी मन्त्रिपरिषद् बैठकमा एक एक गदै निर्णय हुदै गए ।

प्रधानमन्त्री ओलीले ‘ल आजलाई बैठक यत्ति नै गरौं !’ भन्दै जब क्याबिनेट बैठक समापन गर्न खोज्दै थिए – समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादव बोले – प्रधानमन्त्री ज्यू ! मेरो अझै एउटा प्रस्ताव छ । ओली आश्चर्य मान्दै उपेन्द्र तिर फर्किए । उनको मन्त्रालयबाट क्याबिनेटमा छलफलका लागि प्रक्रियागत रुपमा कुनै प्रस्ताव आएको थिएन् । ओलीले उपप्रधानमन्त्री यादवलाई सोधे– के प्रस्ताव ? उपेन्द्र शुरुमा केही बोलेनन् । उनले आफुसँग बन्द खामभित्र रहेको पत्र प्रधानमन्त्री छेउमै राखे ।

फेरि प्रधानमन्त्रीले सोधे – यो के हो ?
उपेन्द्रले भने – संविधान संसोधनको प्रस्ताव ।

त्यसपछि दुई मिनेट जति मन्त्रिपरिषद् बैठकमा एकाएक सन्नाटा छायो । अनि बोले प्रधानमन्त्री –‘स्टप इट’ । क्याबिनेट बैठकका त्यसपछिका घटना सुनाउँदै सरकारका एक मन्त्रीले भने,– ‘सरकारको नेतृत्व कुन पार्टीले गरिरहेको छ ? तपाई (उपेन्द्र) लाई थाहा छ ? नेतृत्व गरिरहेको पार्टीसँग संसदमा कति सिट संख्या छ  त्यो तपाईलाई थाहा छ ? क्याबिनेटमा प्रस्ताव कसरी आउँछन्, त्यो तपाईलाई थाहा छ ? अनि यो के हो ? स्टप इट ।’ उपेन्द्र केही बोलेनन्, चुपचाप बसिरहे ।

त्यसपछि पनि प्रधानमन्त्री कड्किन छोडेनन् । उनी थप आक्रोशित हुदै भने,–‘संविधान संसोधन प्रस्ताव एउटा मन्त्रीले, एउटा पार्टीले ल्याउदैंमा हुन्छ ? यसका लागि अन्य राजनीतिक दलस“ग छलफल गर्नुपर्दैन ? अझ सरकारको नेतृत्व गरिरहेको दल नेकपास“ग कुनै छलफल गर्नुपदैन ? तपाईको पार्टी र तपाईको तजविजमा सबैथोक हुन्छ ?’ चुपचाप बसेका उपेन्द्रले कुनै प्रतिक्रिया दिएनन् । तर प्रधानमन्त्री बोल्न रोकिएका थिएनन् । ति मन्त्रीले प्रधानमन्त्रीका थप भनाई उदधृत गर्दै भने,–‘मादल बजेपछि नाच्न आउने जो पनि हुन्छन् भन्ने कुरा विचार गर्नुपर्छ ।

यो संविधान संशोधनको मादल बजाउने बेला होइन । एकपटक संशोधन गरेर देश विदेश सबैतिरबाट स्वीकार्य बनाइएको हो । बारम्बार क्याबिनेटले संविधान संसोधन गर्ने विषय होइन, यो प्रक्रिया पनि मिलेन, स्टप इट ।’ त्यसपछि प्रधानमन्त्रीले उपेन्द्रले एकाएक सिधैं ल्याएको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरिदिए ।

किन ल्याए यस्तो प्रस्ताव ?

उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा यस्तो प्रस्ताव लैजाने बेला पूर्व प्रधानमन्त्री समेत रहेका पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने छलफल गरेका थिए । उनले यो प्रस्ताव मन्त्रालयका सचिवसम्म पनि छलफल गरेका थिएनन् । पार्टीका शीर्ष नेतासँग बसेर उनले सिधै राजनीतिक प्रस्ताव बोकेर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए ।

उनी नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने बेला आवश्यकता र औचित्यताका आधारमा संविधान संसोधन गर्ने सहमति प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डसँग भएको थियो । त्यसपछि उनी उपप्रधान तथा स्वास्थ्यमन्त्री, इतिस्हाक राई सहरी विकास मन्त्री र सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री बनेर सरकारमा सहभागी भएका थिए ।

तर पछिल्लो पटक प्रधानमन्त्री ओली समाजवादी पार्टीसँग सरकारमै रहेपनि खुसी थिएनन् । उनले ४ मंसिरमा सरकार को मन्त्री हेरफेर गर्ने बेला उनको पार्टीले पाएको एउटा राज्यमन्त्री खोसिदिए, उपेन्द्रलाई स्वास्थ्यवाट झिकेर कानुन मन्त्रालयमा ल्याईदिए । त्यसवेला उपेन्द्र भारतमा थिए । नयाँ शक्तिसँग पार्टी एकतापछि डा. बाबुराम भट्टराईले सरकार छोड्न दबाब बढाईरहेका थिए, उपेन्द्र भने सरकारमै टाँसिरहन चाहेका थिए ।

सरकार छोड्न उनीमाथी पार्टीभित्रै दबाब परेपनि मानेका थिएनन् । कानुन मन्त्रालयमा सरुवापछि भने एकपटक प्रधानमन्त्री ओलीसँग संविधान संसोधनका विषयमा छलफल गर्ने समाजवादी पार्टीले निर्णय लिएको थियो । तर प्रधानमन्त्री ओली बिरामी भए, उनको पार्टीले यस विषयमा छलफल गर्न समय पाएको थिएन् । त्यसबीचमै नयाँ राजनीतिक घटनाक्रम अगाडी बढ्यो । त्यो हो, प्रदेश २ मा ९ माघमा हुने राष्ट्रिय सभा चुनावमा अर्काे मधेस केन्द्रीत दल राजपा र नेकपाबीच चुनावी तालमेल । ४ सिटका लागि हुन लागेको त्यो चुनावी तालमेलमा दुई पार्टीले २–२ सिट भागवन्डा लगाए ।

यो भागवन्डाले राजपाले आफनो पहिलेको २ सिट जोगाउने भयो भने, काग्रेस र समाजवादीको एक एक सिट गुमेर नेकपालाई दुई सिट फाइदा हुने देखियो । त्यक्तिमात्र होइन, राजपालाई नेकपाले केन्द्र देखि प्रदेश २ को सरकार समिकरण हेरफेरसम्मको चलखेल भएको अनुभूति हुन थाल्यो । प्रदेश २ मा समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । त्यो पनि गुम्ने गरी नेकपा राजपा सहकार्य अगाडी बढेको समाजवादीले ठान्यो । त्यसपछि उपेन्द्र बाबुरामले सिधै मन्त्रिपरिषद्मा यो रिहर्सल गर्ने समझदारी बन्यो । त्यही अनुरुप उपेन्द्रले क्याबिनेटमा सिधै राजनीतिक प्रस्तावका रुपमा संविधान संसोधनको प्रस्ताव लिएर गएको समाजवादी पार्टीका एक पदाधिकारीले बताए ।

प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्तावनै अस्वीकार गरेपछि उपेन्द्र एक शब्द पनि बोेलेनन् । चुपचाप बैठकवाट बाहिरिएका थिए । उपेन्द्रको एकाएक आएको यस्तो प्रस्तावले सरकारलाई भने झस्काएको छ । यसले नेकपा र समाजवादीबीचको दुरी झन टाढा बनाईदिएको छ । समाजवादी पार्टीका एक नेता भन्छन्, – ‘राष्टिय सभा चुनावमा नेकपा राजपाबीच भएको चुनावी तालमेल भत्काउन सकिन्छ की भन्ने एउटा दुस्साहसका रुपमा उपेन्द्रले त्यो प्रस्ताव बोकेर क्याबिनेट गएका हुन् ।’
 

प्रतिक्रिया दिनुहोस