तीस लाख रुपैयाँ लगानी गरेर ‘ड्रागन फ्रुट’को खेती

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ३० मंसिर २०७६, १३ : ५४
तीस लाख रुपैयाँ लगानी गरेर ‘ड्रागन फ्रुट’को खेती

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका २६ घान्दु्रक चोकमा पदमबहादुर गुरुङले ड्रागन फ्रुटको खेती थालेका छन् । उनको बारीमा सिमेन्टका खम्बा गाडिएको छ । त्यही खम्बाको पिँधमा ड्याङ बनाई विरुवा रोपिएको छ । गत भदौमा रोपिएका विरुवा हुर्कंदै छन् ।

चितवनमा व्यावसायिक रुपमा यति धेरै क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गर्ने आफू नै भएको गुरुङले बताए । ‘अरुहरुले गमलामा थोरै मात्रामा लगाउने गरेको भए पनि चितवनमा व्यावसायिक रुपमा यसको खती गर्ने म नै हुँ’ उनले भने ।

उनले आफ्नो १.५ बिघा जग्गामा ३ हजार वटा विरुवा रोपेर यसको खेती गरेका छन् । आफूले काठमाडौंमा एजेन्टमार्फत प्रति विरुवा दुई सयदेखि पाँच सय रुपैयाँमा खरिद गरेको उनले बताए ।

ड्रागन सिउँडी प्रजातिको वनस्पति हो । यसको फलबाहिर र भित्र रातो हुने, बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पहेंलो र भित्र सेतो हुने गरी तीन प्रकारको हुन्छ । गुरुङले दुई थरीको विरुवा लगाएका छन् । एउटा ड्रागन फ्रुटको फल १०० ग्रामदेखि १ किलो सम्म हुने गर्दछ ।


तस्विर : गुगलबाट

विदेशमा यसको खेती व्यावसायिक रुपमा गर्ने प्रचलन बढी भए पनि नेपालमा भित्रिएको लगभग ५ वर्ष जति भएको छ । दाङ र काभ्रेमा गरिएको खेतीको अवलोकन आफूहरुले गरेको गुरुङले बताए । भाई तैबहादुर गुरुङको संयुक्त लगानीमा गङ्गा श्री बहु उद्देश्यीय कृषि फर्म दर्ता गरी यस खतीको सुरु गरेको पदमबहादुर बताउँछन् । 

आफूले युट्युबमा हेरेको आधारमा यस खेती गर्न उत्साहित भएको उनले बताए । उनले आफ्नो साथीहरु पनि कृषि विज्ञ भएकाले उनीहरुसँग पनि सल्लाह गरेको बताए । दाङ र काभ्रेमा गरिएको ड्रागन फ्रुट खेतीको अवलोकबाट पनि यस खेती सम्बन्धी धेरै कुरा सिक्न पाएको उनले सुनाए ।

ड्रागन फ्रुट स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने थाहा पाएपछि नेपालमा पनि यो खेती लगाउनु पर्छ भन्ने संदेश दिन पनि आफूले यसको खेती गरेको उनले बताए । विदेशिने युवाहरुले यसको खेती गर्न सके विदेशको भन्दा धेरै कमाइ गर्न सक्ने उनको दाबी छ । उनले भरतपुर २६ लाई ड्रागन फ्रुटको जोन बनाउने उद्देश्य राखेका छन् । अहिले १.५ बिघामा खेती गरे पनि आफूले पछि यसलाई बढाउँदै जाने उनले बताए । 

‘ड्रागन फ्रुट बेच्नका लागि बजारको समस्या छैन । नेपालकै ५ स्टार होटेलहरुमा यो फलको माग धेरै नै हुँदो रहेछ’ उनी भन्छन् । उनका अनुसार विदेशबाट ल्याएर सुपरमार्केटहरुले १ हजार रुपैयाँ किलोमा बेचिरहेका छन् । नेपालमा उत्पादित ड्रागन फ्रुटलाई अहिले किसानहरुले सात सय रुपैयाँको हाराहारीमा बेचिरहेका छन् ।

तस्विर : गुगलयो  तस्विर गुगलबाट लिइएको हो ।

आफूले अहिलेसम्म ३० लाख लगानी गरिसकेको गुरुङले बताए । ‘फलफल्ने बेलासम्म ४५ लाख पुग्ने अनुमान छ । दाङ तथा काभ्रेका कृषकहरु र विज्ञ साथीको सल्लाहलाई अधार मान्दा मैले एकै सिजनमा लगानी उठाउन सक्छु’ उनले भने । जेठदेखि मंसिरसम्म ड्रागन फ्रुटको सिजन हो । यो समयमा फूलफुल्ने, फल लाग्ने र टिप्ने क्रम चलिरहन्छ । यो फूल रातिमा मात्र फुल्ने भएकाले ड्रागन फ्रुटलाई भारतमा ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यसको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ ।

गुरुङ काठमाडौंमा बस्दै आएका छन् । उनले चितवनमा भएको बारीको रेखदेख गर्ने जिम्मा एक जना स्थानीयलाई दिएका छन् । उनी हुन् टिकाराम पोख्रेल । पाख्रेलले भने, ‘मैले फर्मलाई रेखदेख गर्छु । पदमबहादुरजीलाई यहाँको रिपोर्ट पठाउँछु ।’ 

दाङमा भएको खेतीको अवलोकन गर्ने टोलीमा गुरुङसँगै पोख्रेल पनि थिए । दाङका किसानले आफूहरुलाई ड्रागन फ्रुटको खेतीको बारेमा धेरै कुरा सिकाएको पोख्रेलले बताए । ‘त्यो अवलोकनपश्चात मैले यस खेतीबारे धेरै ज्ञान हासिल गरें । अनि पदमबहादुरजीले पनि धेरै कुरा सिकाउनुभयो । मैले त्यही ज्ञानको आधारमा यस खेतीको रेखदेख गरिरहेको छु’ उनले भने ।

उनकाअनुसार यो खेती गर्न केही गाह्रो छैन । ‘नयाँ खेती भएका कारण सुरुसुरुमा केही अनौठोमात्र लाग्ने हो । पछिपछि अरु खेती जस्तै साधारण लाग्छ’ उनी भन्छन् ।

उनले फर्ममा दैनिक ५ देखि ७ जनाले ज्यालादारीमा काम गरिरहेको बताए । फर्ममा विरुवाहरु कलमी गरेर उमारिएको छ । उक्त विरुवा बेच्नको लागि तयार पारिएको हो । ड्रागनको बोटलाई नै सानोसानो गरेर काटेर विरुवा बनाइन्छ । उनले प्रति विरुवाको दर २५० भए पनि होलसेलमा धेरै लैजानेलाई मिलाउन सकिने बताए । स्थानीय मानिसहरुले यसको महत्व बुझ्न सके विरुवा यहीँ खपत हुने उनी बताउँछन् । थोरैथोरै मात्रामा घरको छत र करेसा बारीमा पनि यसको खेती गर्न सकिन्छ ।


यसरी गरिन्छ ड्रागन फ्रुटको व्यावसायिक खेती
पोख्रलकाअनुसार ड्रागनको विरुवा लगाउनु भन्दा पहिला ड्याङ बनाएर ६ फिट अग्लो खम्बा गाड्नुपर्छ । खम्बामा अडाएर ड्रागनको विरुवा रोप्नुपर्छ । एक खम्बादेखि अर्काे खम्बासम्मको दुरी ६ फुट हुनु पर्छ । ड्याङ्हरुबीचको दुरी १०.५ फिटको हुनुपर्छ । 

विरुवा ठूलो हुँदै गएपछि खम्बाको माथि हुने रडलाई बङ्ग्याएर त्यसमाथि टायर राख्नुपर्छ । ड्रागनको बोट त्यही टायरमा लत्रिएर फुल्न, फल्न थाल्छ । मोटरसाइकलको टायर प्रयोग गर्ने गरी पोख्रेलले किनेर ल्याइसकेका छन् ।
पोख्रलकाअनुसार यस खेतीको लागि पानी जम्न दिनुहुँदैन । त्यसैले खम्बा गाडेको ठाउँमा केही उँचो बनाएर विरुवा रोप्नुपर्छ । आफूले हप्तामा एक पटक थोपा सिंचाइमार्फत विरुवामा पानी हाल्ने गरेको पोख्रेल बताउँछन् । त्यहाँ डिप बोरिङबाट पानी तान्ने गरिएको छ ।

ड्रागनको बोटले कम्तिमा पनि १२ वर्षसम्म उत्पादन दिइरहन्छ । पोख्रेलकाअनुसार १२ वर्षपछि बोटलाई एक फुटको उचाइमा काट्नुपर्छ । त्यसपछि फेरि त्यसले करिव १० वर्षसम्म उत्पादन दिन्छ । यसरी राम्रोसँग उचित स्याहारसुसार गरेर खेती गरेमा यसले २० देखि ३० वर्षसम्म फल दिन्छ । बीचमा रहेको खालीभागमा अरु खेती पनि गर्न सकिन्छ । गङ्गा श्री फर्ममा गरिएको ड्रागन खेतीको खाली भागमा आँप लगायतका फलफूलका विरुवा छन् ।

ड्रागन फ्रुटको प्रयोग
यो फल स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ । यो फलमा धेरै प्रकारका भिटामिन र खनिज तत्वहरु पाइन्छ । यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्ट्रोललगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

यसको फललाई इनर्जी ड्रिंक, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका कुराहरु बनाउन पनि प्रयोग गरिन्छ । ड्रागनको फूलको पत्ता सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती बनाउन सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस