प्रथम जननिर्वाचित सभापति श्रेष्ठको निधन

शुक्रबार, २७ मंसिर २०७६, २० : १०
प्रथम जननिर्वाचित सभापति श्रेष्ठको निधन

काठमाडौ । तत्कालीन काठमाडौँ नगरपालिकाका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ । श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी पर्नुभएको थियो । उहाँको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले मृतात्माको चीरशान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँकी बुहारी रिना श्रेष्ठका अनुसार दिउँसो उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।  

विसं २००८ मा काठमाडौँ नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा २०१० साल भदौ १० गते नगरपालिकाको सम्पन्न चुनावमा श्रेष्ठले करिब दुई हजार ५०० मत ल्याएर निर्वाचित हुनुभएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा श्रेष्ठ प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

 त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानुनी व्यवस्था रहेको थियो ।    नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो । 

प्रतिक्रिया दिनुहोस