प्रधानमन्त्रीले खेलाडी सम्मानमा ‘सरप्राइज’ गिफ्ट घोषणा गर्ने

पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले आज दिउँसो बोलाए बालुवाटार

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, ०८ : ४७
प्रधानमन्त्रीले खेलाडी सम्मानमा ‘सरप्राइज’ गिफ्ट घोषणा गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालका तर्फबाट पदक जित्ने खेलाडीहरुलाई सम्मान गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर उनले खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीलाई सम्माननीय प्रधानमन्त्रीले बधाई दिन बालुवाटार आमन्त्रण गर्नुभएको छ ।’ थापाले भने,–‘राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा उहाँले संबोधन पनि गर्नुहुनेछ ।’ ओलीले दिउँसो सवा २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुलाई आमन्त्रण गरेका हुन् ।

नेपाली खेलाडीहरुले राष्ट्रका लागि खेल्ने तर राष्ट्रले ति खेलाडीहरुको उचित सम्मान र मूल्याकंन गर्न नसकेको आरोप लागिरहेको छ । प्रधानमन्त्री ओलीले सागको तयारी गर्दैगर्दा खेलाडीहरुको सम्मान सरकारले गर्ने बताएका थिए । खेलकुद मन्त्री जगत विश्वकर्माले पनि सरकारले खेलाडीहरुलाई उचित सम्मानको ब्यवस्था हुन लागेको बताएका थिए ।

प्रधानमन्त्री बिरामी भएपछि नेपाली खेलाडीहरुलाई खेल अगाडी सम्बोधन गर्न जान नपाएपछि पुगेका अर्थमन्त्री युवराज खतिवडाले खेलाडीहरुको जिवन निर्वाहका लागि विशेष प्याकेज बनाउने तयारीमा सरकार रहेको बताएका थिए । यस अर्थमा पनि सरकारका तफबाट आज पदक जित्ने खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले विशेष सरप्राइज दिने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । नेपालले सागमा कुल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २०६ पदक जितेको थियो  । सागमा नेपाल भारत पछि दोश्रो स्थानमा छ ।
 

प्रतिक्रिया दिनुहोस