‘जिरो टिलेज’ प्रविधिबाट खेती

विहीबार, २५ माघ २०७४, १६ : ४७
‘जिरो टिलेज’ प्रविधिबाट खेती

कञ्चनपुर । खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् ।
थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर गहुँखेती गरेका छन् ।

धान काटेको खेतमै खनजोत नगरिकनै सिड ड्रिल मेसिनको सहायताले एकै लाइनमा गहुँको बीउ र मल राखेर खेती गर्दा बढी प्रतिफल हासिल हुने भएकाले किसान सो प्रविधितर्फ आकर्षित भएका हुन् । गत वर्ष नमूनाका रुपमा बेलौरी– ६ रिछाहाका खड्क चौधरीले सो प्रविधिबाट गहुँखेती गरेका थिए । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन तेब्बर भएपछि अन्य किसानले समेत कृषि शाखाको सल्लाहमा जिरो टिलेज प्रविधिबाट गहुँखेती गरेका छन् ।

दुई वर्षअघिदेखि जिरो टिलेज प्रविधिबाट गहुँखेती गर्दै आएका चौधरीले धान काटिसकेपछि खेतमा चिस्यान बढी हुने भएकाले त्यसैबेला सिड ड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नु पर्ने बताउनुभयो । “उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाज राम्रो आउँछ,” उहाँले भन्नुभयो ।

परम्परागत छरुवा प्रविधिमा आधारित भई खेती गर्दा खेतलाई पाँच पटकसम्म जोताई गर्दा प्रतिबिघा रु १० हजार बढी खर्च लाग्ने कृषि प्राविधिक हरिश सेटी बताउनुहुन्छ । जिरो टिलेज प्रविधिबाट खेती गरे एकपटक गहुँ छर्दामात्रै प्रतिबिघा रु दुई हजार ५०० मात्रै खर्च लाग्छ । सिँचाइ गर्दा पानी थोरै लाग्छ । छरुवा प्रविधिमा गरिएको खेती बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या यस प्रविधिमा छैन ।

छरुवा प्रविधिबाट खेती गर्दा प्रतिबिघा २० क्विन्टलभन्दा बढी गहुँ फल्दैन तर जिरो टिलेज प्रविधिबाट खेती गरिए प्रतिबिघा ६० क्विन्टलसम्म गहुँ उत्पादन लिन सकिने सेटी बताउनुहुन्छ ।

हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । झारपात र रोग कीराको प्रकोपसमेत बढी नहुने भएकाले सो प्रविधि किसानमाझ लोकप्रिय हुँदै गएको उहाँको भनाइ छ । अत्याधुनिक कृषि यन्त्रको सहायताले गरिने यस खेती प्रणालीलाई नगरपालिकाका अन्य वडामा समेत विस्तार गर्नका लागि आगामी वर्षका लागि कृषि शाखाले योजना बनाएको छ । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस