ओलीको समर्थन छ, ३ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ : पाण्डे

विहीबार, २५ माघ २०७४, १६ : १५
ओलीको  समर्थन छ, ३ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ : पाण्डे

काठमाडौं । एमालेका नेता राजेन्द्र पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । काठमाडौमा बिहिबार भएको साक्षात्कारमा उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेद्धवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ ।’
नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको व्यक्ति भएको उल्लेख गर्दै भने,‘म ४ पटकसम्म लगातार संसदमा काम गरेको अनुभव छ, प्रमुख सचेतक भएर काम गरेको छु, संसदीय कार्यव्यवस्था समितिको सदस्य भैसकेको छु, यसरी संसदमा समेत लामो भूमिका निर्वाह गरेको अनुभव भएकोले म मुख्यमन्त्री लागि योग्य छु, सोही अनुसार मैले तयारी गरेको छु ।’
उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । केन्द्र सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरु यही प्रदेशमा पर्ने भएकोले यीनीहरुलाई सम्पन्न गर्न आफू लागिपर्ने पाण्डेको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस