साग अन्तर्गत ‘कुस्ती’ मा भारतको दबदबा

पत्रपत्रिकाबाट

शनिबार, २१ मंसिर २०७६, ०७ : ३४
साग अन्तर्गत ‘कुस्ती’ मा भारतको दबदबा

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत जनकपुरमा भएको कुस्ती खेलको पहिलो दिन शुक्रबार भारतले चार स्वर्ण जितेको छ । नेपालले प्रतिस्पर्धी खेलमा १ रजत र ३ कास्य जितेको छ । श्रीलंकाले ३ वटा रजत र १ वटा कास्य जितेका छन् ।

जनकपुरको मुजेलियास्थित कर्भडहलमा भइरहेको कुस्ती प्रतियोगिताको पहिलो दिन महिलातर्फ ५० र ५२ तौल समूह र पुरुषतर्फ ५७ र ६५ तौल समूहबीच प्रतिस्पर्धा भएको थियो । ५३ किलो तौल समूहमा भारतकी पिंकी कुमारीले स्वर्ण जितेकी छन् । नेपालकी शिवांगी दुवेलाई पराजित गर्दै स्वर्ण जितिन् । नेपालकी शिवांगीले भारतकी पिंकीलाई अन्तिम चरणमा कडा टक्कर दिएकी थिइन् । उक्त तौल समूहमा श्रीलंकाकी खेलाडी शमिकाले कास्य जितिन् ।

यसैगरी ५० किलो तौल समूहको कुस्ती खेलमा भारतकी शीतल तोमरले स्वर्ण पदक जितिन् । श्रीलंकाकी खेलाडी रोशनीले रजत र नेपालकी मनिषा सिंहले कास्य जितिन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाकी महिला खेलाडी मात्र सहभागी यो तौल समूहमा भारतका खेलाडीको दबदबा देखिन्थ्यो । भारतका खेलाडीसँग नेपालको खेलाडी मात्रै धेरै समय रिङमा टिकिरहे ।

साँझ भएको ५७ तौल समूहको कुस्ती खेलमा भारतको राहुल कुमारले स्वर्ण, श्रीलंकाका कथोरंगनाले रजत र नेपालको नरेश यादवले कास्य जिते । पुरुष समूहमै ६५ किलो तौल समूहमा भएको प्रतिस्पर्धामा भारतका अमित कुमारले स्वर्ण, श्रीलंकाको चमाराले रजत र नेपालका सरोज यादवले कास्य जितेका छन् । पाकिस्तानले यो दुबै तौल समूहमा प्रतिस्पर्धा गरेनन् । बंगलादेशको खेलाडी सहभागी भए पनि भारत र नेपालसँग परेको सबै खेलमा पराजित भए । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस