खानेपानी मन्त्री बिनामगरद्वारा  मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, १९ : ०९
खानेपानी मन्त्री बिनामगरद्वारा  मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्नका लागि काम भईरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गर्नुभएको छ । 

खानेपानी मन्त्री मगरको नेतृत्वमा मन्त्रालयका सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्य लगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको हो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै मन्त्री मगरले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गर्नुभयो ।
दोस्रो प्रशोधन केन्द्रको कामलाई तीव्र गतिमा समयमै सम्पन्न गर्न मन्त्री मगरले विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले अब केही समयमै दोस्रो प्रशोधन केन्द्रको काम सकिने जानकारी दिनुभयो । 

सुन्दरीजलमा बनिरहेको दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भईसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम करिब करिब सकिन लागेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८ करोड लिटरका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पठाईनेछ ।

सम्पन्न हुन बाँकी रहेको पानी प्रशोधन केन्द्रको काम आउँदो पुस महिनामा सकिने मेलम्ची विकास समितिले जनाएको छ । एउटा प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आईसकेको छ । प्रशोधन केन्द्रको निर्माण जाइकाले दिएको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो । पहिलो प्रशोधन केन्द्रको काम दुई वर्षअघि नै सकिएको थियो । 

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पु(याइनेछ । तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ । 

यस केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बिचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ ।

यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रिया सहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्य्राभिटी फिडको आवश्यकता पर्दछ । यस केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत प्लान्ट पनि रहेको छ जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुनसक्छ ।

सम्पन्न भईसकेको प्रशोधन केन्द्रबाट प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन भईरहेको छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङ मार्ग हुँदै आउने याङग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त ठाउँमा अर्को प्रशोधन केन्द्र समेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । सुरुङ हुँदै आउने दैनिक ५१ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा प्रशोधन केन्द्र बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस