साग अन्तर्गतको टि-२० क्रिकेटमा नेपालले बनायो २३६ रन

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, १२ : ०४
साग अन्तर्गतको  टि-२० क्रिकेटमा नेपालले बनायो २३६ रन

काठमाडौँ  ।  १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान सामू विशाल लक्ष्य पस्केको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनायो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए ।  उच्च स्कोर बनाउने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए। टि-२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए ।  यस्तै पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए । नेपालले टी–२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। नेपालको विकेट लिने क्रममा भुटानका कर्मा दोर्जीले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस