पोखरामा ‘साग’ ले चहलपहल बढायो

भ्रमण वर्षलाई सहयोग पुग्ने विश्वास

विहीबार, १९ मंसिर २०७६, ११ : २६
पोखरामा ‘साग’ ले चहलपहल बढायो

रासस

पोखरा । पोखरा यतिबेला सागमय बनेको छ । १३ आँै दक्षिण एशियाली खेलकूद (साग)का कारण पोखरामा चहलपहल निकै बढेको छ ।  साग अन्र्तगत विभिन्न प्रतियोगितामा सहभागी हुन ८ सय ४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।

पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीहरुबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको बताउदैं उहाँले भन्नुभयो, ‘यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।” 

“साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो, “नेचर, कल्चर र एडभेन्चरलाई अन्तरराष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवद्र्धन हुनेछ ।” संस्कृतिको खानी पोखराको आसापास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले  होटल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी पर्यटन व्यवसायीहरुमा पनि खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेलले बताउनुभयो । “आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ ।

यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ”, उहाँले भन्नुभयो । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुशी हुनुभएको छ । यो पनि पर्यटन प्रवद्र्धनका लागि एउटा सकारात्मक पक्ष हो ।”  “कति कुरा तत्काल देखिँदैन तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा आफू विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

 नेपालबाहेक छ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरुले प्रत्यक्ष यहाँको सुन्दरता रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । यसले भ्रमण वर्षलाई झनै सहयोग हुने धेरैको पोखरेलीको भनाई छ । 

पोखरा अवर्णित शहर: विदेशी खेलाडी 

साग खेलमा सहभागी श्रीलङ्काका खेलाडी अजिथ विजयसिंघेले आफ्नो नेपालको पोखरा आउने ड्रिम नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र विशेषगरी पोखराका बारेमा निकै सुनेका थिएँ । साग खेलले आफ्नो सपनाको शहर पोखरा घुम्ने रहर पूरा गरिदियो ।” 

व्याडमिन्टनका खेलाडी रहनुभएका अजिथ पर्यटन व्यवसायी समेत हुनुहुन्छ ।  नेपालमा साग खेल हुने कुराले नै उत्साहित भएको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सुन्दरता भएको शहरमा खेल्दा आनन्द आएको बताउनुभयो । उहाँले हवाईयात्राबाट अन्नपूर्ण हिमशृङ्खलाको पनि अवलोकन गरेको र पोखरा अवर्णित शहर भएको प्रतिक्रिया दिनुभयो ।

माल्दिभ्सका ब्याटमिन्टनका म्यानेजर खेलाडी अमिनाथ अहमेद दिदीले पनि आफूले सोचेभन्दा पोखरा निकै सुन्दर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राति आएका थियौँ, जब बिहान होटलको झ्यालबाट फेवाताल र खुलेको हिमशृङ्खला देख्यौँ, हामीले नसोचेको पायौँ ।”

पोखराको गौरीघाटस्थित होटल रानीवन आर्केटमा बस्नुभएको उहाँको टिमले पोखराको वातावरण र राम्रो हस्पिटालिटीले आफूहरुलाई आकर्षित गरेको बताउनुभयो । १३ औँ साग पोखरा, जनकपुर र काठमाडाँै गरी तीन ठाउँमा खेल भइरहेको छ, जहाँ तीन हजार बढी खेलाडीको सहभागिता रहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस