चीनले नेकपा नेताहरुलाई सोध्यो : प्रचण्डको भ्रमण किन स्थगित भयो ?

२४ मंसिरवाट चीन भ्रमण गर्ने तयारीमा रहेका प्रचण्डको भ्रमण स्थगित भएपछि चीनले गम्भिर चासो देखाएको छ

बुधबार, १८ मंसिर २०७६, ०७ : ५५
चीनले नेकपा नेताहरुलाई सोध्यो : प्रचण्डको भ्रमण किन स्थगित भयो ?

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डको चीन भ्रमण धकेलिएपछि चीनले चासो देखाएको छ । भ्रमणको पूर्ण तयारी भईसकेको र भ्रमण दलमा रहेका कतिपय नेताको भिसा प्रक्रिया समेत शुरु भईसकेको अवस्थामा भ्रमण स्थगित भएपछि चीनले चासो राखेको हो ।

नेपालका लागि चिनियाँ राजदुतले प्रचण्ड नेतृत्वको नेकपा नेताहरुको भ्रमणका विषयमा गम्भिर चासो राखेको हो । अध्यक्ष प्रचण्ड पार्टीका झण्डै ५ दर्जन नेताहरुको नेतृत्व गर्दै २४ मंसिरमा चीन भ्रमणमा जाने तयारीमा थिए । प्रधानमन्त्री केपी ओलीको अस्पताल बसाई लम्बिएको, देशको राजनीतिक परिस्थिती अनुसार पार्टी काममै सक्रिय रहनु परेकोले आफु चीन जान नसक्ने भन्दै प्रचण्डले तत्काल भ्रमण रोकेका थिए ।
 
गत शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेपछि उनी भ्रमण रोक्ने निश्र्कषमा पुगेका थिए । उनले भोलीपल्टै नेपालका लागि चिनियाँ राजदुतलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर आफु तत्काल चीन जान नसक्ने अवस्था दर्शाएका थिए । त्यसपछि चिनिया पक्षले प्रचण्डको भ्रमण स्थगित हुनुको कारणका बारेमा नेताहरुसँग जिज्ञासा राखेको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।  अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई अस्पतालको बेडमा राखेर आफु चिन भ्रमणमा जानु उचित नहुने भन्दै भ्रमण स्थगित गरेका थिए । चिनले नेकपाको स्कुल विभाग प्रमुख रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई पनि प्रचण्डको भ्रमण स्थगित किन गरियो भनी जिज्ञासा राखेको स्रोतले बतायो ।

‘प्रधानमन्त्री ओली बिरामी हुनुहुन्छ भन्ने विषय जानकारीमै थियो, सबै तयारी चिनियाँ पक्षले गरेर भिसा प्रक्रिया समेत कतिपय नेताको अ गाडी बढेको थियो, यो बेला किन भ्रमण स्थगित गर्नुप¥यो ?’ चीनले नेकपा नेताहरुसँग यस्तै जिज्ञासा राख्न थालेको छ । प्रचण्डको भ्रमण त्यहाँको कम्युनिष्ट पार्टीका स्कुल विभागसँगको समन्ययको आधारमा तय भएको र दुई देशका कम्युनिष्ट पार्टी बीचको सम्बन्ध आदान प्रदानका लागि भएकोले पनि उनीहरुले यहाँको कम्युनिष्ट पार्टीको स्कुल विभागका नेताहरुसँग बढी जिज्ञासा राखेको हो । 

चिनले भ्रमण पछि धकेल्ने नेकपा नेताहरुको त्यस्तो निर्णयमा चासो देखाउन थालेपछि नेताहरुले पनि एकमुख जवाफ दिने निश्र्कष निकालेका छन् । उपप्रधानमन्त्री पोरखेल र अध्यक्ष प्रचण्डबीच खुमलटार स्थित प्रचण्ड निवासमा भएको छलफलमा चीनलाई आश्वस्त पार्ने गरी पार्टी नेताहरुले एउटै जवाफ दिने निश्र्कष निकालेका थिए ।
 
‘भ्रमण स्थगित गरिएको होइन, केही समय मात्र पछि सार्ने खोजिएको हो, प्रधानमन्त्री बेडमा रहेका बेला भ्रमणमा जान नसकिएको र पार्टी बैठक र देशको राजनीतिको समिक्षा गर्नका लागि पनि अहिले तत्काल नगरौं भन्ने मात्र भएको हो,’ नेकपा नेताहरुले चिनलाई दिने जवाफमा नेताहरुको एकै खाले मत नेकपाले बनाउन खोजेको हो । बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा पनि यस सम्बन्धमा चिनियाँ चासोलाई सम्बोधन गर्ने गरी एउटा साझा निक्र्कष निकालिने नेताहरुको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस