माडी सांस्कृतिक तथा पर्यटन मेला हुने

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, १३ मंसिर २०७६, १३ : ४७
माडी सांस्कृतिक तथा पर्यटन मेला हुने

चितवन । चितवनको माडीमा माडी सांस्कृतिक तथा पर्यटन मेला हुने भएको छ । 
थारु कल्याणकारी सभा, क्षेत्र नम्बर १, माडी चितवनको आयोजनामा मंसिर २० गतेदेखि २९ गतेसम्म मेला सञ्चालन गरिने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

थारु कल्याणकारी सभा, क्षेत्र नम्बर १, माडीका अध्यक्ष एवं मेलाका संयोजक भीमप्रसाद महतोले माडी उपत्यकाको पर्यटन प्रवद्र्धनसँगै एम्बुलेन्स खरिद तथा सञ्चालन सहयोगार्थ माडी नगरपालिका १ बरुवा बजारस्थित स्टार खेल मैदानमा मेला आयोजना गर्न लागिएको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु पनि मेलाको उद्देश्य रहेको उनले बताए । मेलामा माडीको पर्यटन एवं संस्कृति झल्कने विभिन्न सामग्रीको प्रस्तुती, थारु र बोटे भिलेज एवं परिकार प्रदर्शनी तथा माडी डान्स आइडल प्रतियोगिता समेत सञ्चालन गरिने छ । 

महतोका अनुसार मेलामा नेपालका चर्चित गायन कलाकारहरु समिर घिसिङ (भिटेन), प्रमोद खरेल, पशुपति शर्मा, दुर्गेश थापा, कमल खत्री, ज्योती मगर, प्रकाश सपुत, रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेको प्रस्तुति रहनेछ । 

त्यसैगरी भूमिका गिरी, विकास पाण्डे, दिपक खड्का, ढाकाराम पौडेल, कर्णराज गिरी, रमेश श्रेष्ठ मेलोडी, सपना थापा, दिक्षा सुनार, शक्ति कोदार, जि.बी सुनारले समेत मेलामा गीत गाउने छन् । मेलामा जादुगर बलराम सरकारको पनि विशेष प्रस्तुती रहने महतोले बताए । यसबाहेक थारु गायक गायिकाहरु अनु चौधरी, संजय चौधरी, मनोज चौधरी, सोमती थारु र भोजपुरी गायकहरु सुनिल पण्डित र प्रमोख जख्मीले समेत गीत गाउने उनले जानकारी दिए ।

मेलामा १५० वटा स्टलहरु रहेनछन् । मेला प्रवेश शुल्क विद्यार्थी, वृद्ध, अपाङ्ग र अशक्तका लागि ४० र अन्यका लागि ६० रुपैयाँ लाग्ने महतोले बताए । मेलामा करिव ६० लाखको कारोवार हुने लक्ष्य राखिएको उनले जानकारी दिए ।

मेलाको प्रत्येक प्रवेश टिकटबाट एम्बुलेन्स खरिद एवं सञ्चालन सहयोगार्थ १० रुपैयाँ दाखिला हुने छ । थारु कल्याकारी सभाले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले माडी उपत्यकासँगै बाँदुरझुला र अन्य सबै क्षेत्रहरुमा सेवा पुर्‍याउने महतोले बताए । 

स्टार स्पोर्टस् क्लब, माडी–१, बरुवा र स्वदेश एफ.एम मेलाको सह–आयोजकका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस