वीरेन्द्र क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, ११ मंसिर २०७६, १८ : ५९
वीरेन्द्र क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो

चितवन । विद्यार्थीहरुले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा लगाएको ताला खोलिएको छ ।

बिबिएस र बिएड संकायका विद्यार्थीहरुले पठनपाठन नै ठप्प हुने गरी सोमबारदेखि लगाएको ताला आज बुधबार खोलिएको हो । विद्यार्थीहरुले कलेज प्रशासनको ताला भने खोलेका छैनन् ।

कक्षाहरु नियमित रुपमा सञ्चालन नभएपछि विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका थिए । जसले गर्दा सबै संकायका पठनपाठन ठप्प भएको थियो । विद्यार्थीहरुले अभाव भएका शिक्षकहरुको पूर्ति गरी सम्पूर्ण कक्षाहरु नियमित रुपमा सञ्चालन हुनुपर्ने माग राखेर तालाबन्दी गरेका थिए । बिबिएस र बिएड संकायका विद्यार्थीहरुले मिलेर आन्दोलन गरेपनि विशेष गरी बिबिएस संकायमा शिक्षकको अभाव भएको थियो ।

विभिन्न संकायका विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएपछि ताला खोलिएको एक विद्यार्थीले बताए । 
१० दिनभित्र आवश्यक शिक्षकहरुको परिपूर्ति गर्ने सहमति भएको छ । सहमति अनुसार काम नभए पुनः थप आन्दोलनका कार्यक्रम घोषण गरिने विद्यार्थीहरुले बताएका छन् । 

क्याम्पस प्रमुख गोविन्द सापकोटाले त्रिभुव विश्वविद्यालयबाट शिक्षकहरु राख्न स्वीकृत आएको बताए । उनले संभवत पर्सिबाट शिक्षकका लागि विज्ञापन गरिने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस